Logo

६ वैशाख,वीरगञ्ज । देशैभर नयाँ शैक्षिक शत्र सुरु भइसकेको छ । शैक्षिक शत्र हुनुपूर्व नै सम्पूर्ण विद्यार्थीले हातहातमै पुस्तक पाउनु पर्ने हो । तर मधेश प्रदेशका पर्सा, बारा, रौतहट जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाउने भएका छन् ।

स्थानीय सरकारको लापरवाही तथा ढिलासुस्तीका कारण यी जिल्लाका विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् । स्थानीय पालिकाहरुले समयमै पाठ्यपुस्तक खरिद गर्ने रकम निकासा नगर्दा यसवर्ष पनि किताबविनै विद्यालय जान बाध्य छन् ।

विद्यार्थीको हातमा हुनुपर्ने पुस्तक अहिले जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरमा थन्किएको छ । प्रदेश कार्यालयले पर्सा, बारा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र तनहुँको दक्षिण क्षेत्रमा किताब वितरण गर्दै आएको छ ।

किताब खरिदका लागि स्थानीय सरकारले विद्यालयलाई रकम दिनुपर्छ, तर मधेश प्रदेशका बारा, पर्सा, रौतहट लगायत जिल्लाका विद्यालयको खातामा पालिकाले रकम जम्मा गराएको छैन ।

जनक शिक्षाको प्रादेशिक कार्यालयले उधारोमा किताब दिएको छैन । जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार कार्यालयले गत चैत १२ गते बाटै किताब बिक्री सुरु गरेको छ ।

पैसा दिएका विद्यालयमा मात्र पुस्तक पठाइएको उनले जनाए । चितवन र मकवानपुर जिल्लाका विद्यालयले आफ्नै स्रोतले खरिद गरेर लगेको पाइएको भएपनि सबै विद्यालयले लैजान नसकेको उनले बताए ।

कुन जिल्लामा कति ?

कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मधेश प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी किताब रौतहटमा गएको छ । उक्त जिल्लामा ७० प्रतिशत किताब गएको कार्यालयको विवरण छ । यस्तै पर्सामा ३५ प्रतिशत, बारामा ४० प्रतिशत किताब गएको छ ।

यसैगरी मकवानपुर, पूर्वी नवलपरासी र तनहुँमा ८५ प्रतिशत गएको छ भने चितवनमा ९० प्रतिशत किताब गएको कार्यालयको रेकर्ड छ ।

पालिकाले समयमा बजेट निकासा नगरिदिएपछि विद्यालयले किताब खरिद गर्न नसकेका प्रमुख केसीले जनाकारी दिए । किताब खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले जनक शिक्षालाई एकै पटक रकम जम्मा गरिदिने हो भने ७५३ वटै पालिकामा समयमै किताब पठाउन सकिने उनको भनाई छ ।

जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ५ देखि १० सम्मको किताब बिक्रि गर्दै आएको छ । कक्षा १ देखि ५ सम्मको किताब भने निजीले छपाएर बिक्रि गरेको छ ।


सम्बन्धित समाचार