Logo

६ वैशाख,वीरगञ्ज । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा हुने सेवा तथा समस्याहरुको बारेमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र वीरगन्जस्थित प्रमुख कमल ज्ञवालीले वीरगन्ज स्थित सुक्खा बन्दरगाह आईसीडी ड्राईपोर्टको व्यवस्थापन कम्पनी प्रिन्स्टिाईन भ्याली ड्राईपोर्ट, वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) व्यवस्थापनको जिम्मा पाएको टिएसआर हिमालयन लजिष्टिक र वीरगन्ज उद्योग वाणिज्य संघबीच छलफल गरेका हुन् ।

छलफलमा विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालको आयात निर्यात र व्यापार सहजीकरणमा अन्तर सरकारी निकाय र निजीक्षेत्रबीच समन्वय र सहकार्य हुनुपर्ने जनाए । उनले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै आयात निर्यात भएकोले यसको सहजीकरण विना देशको अर्थतन्त्र बलियो नहुने बताए ।

ड्राईपोर्ट र आईसीपीको पूर्वाधार संरचनाको निर्माण विस्तारमा समिति सकारात्मक रहेको र व्यापार सहजीकरणमा पनि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । छलफलमा प्रिन्स्टिन भ्याली ड्राइपोर्ट वीरगन्जका प्रमुख अतुल शर्माले समितिसँगको व्यावसायिक सहकार्य राम्रो रहेको र पूर्वाधार संरचनाको विस्तार भन्सार जाँचपासमा छिटो छरितो भए सेवालाई अझ गुणस्तरीय बनाउन सक्ने जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले तेश्रो मुलुकबाट आउने नेपाल आयात गरिने सामान ढुवानीमा रेलसेवा सन्तोषजनक नै रहेको र नेपालतर्फबाट गोदाम लगायतका भौतिक पूर्वाधार संरचनाको निर्माण र विस्तारमा पहल गर्नुपर्ने सुझाए ।

कार्यक्रममा इन्टर मोडल यातायात विकास समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवाली, वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशिष लाठ, सहसचिव निरज अग्रवाल र अनुज रुंगटा र आरएस हिमालयन लजिपार्कका प्रमुख गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि आरएस हिमालयन लजिपार्कको तर्फबाट आईसीपीमा वृक्षरोपण पनि गरिएको थियो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, वीरगन्ज प्रमुख कमल ज्ञवाली, लजिपार्कका प्रमुख गणेश घिमिरे लगायत सञ्चारकर्मीहरुले वृक्षारोपण गरेका थिए ।


सम्बन्धित समाचार