Logo

६ वैशाख,वीरगञ्ज ।सरकारले आजदेखि बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ ।

जिल्लाका ९७ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यक्रममार्फत ९७ हजार ५४२ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य कार्यालयको छ ।

वीरगञ्ज महानगरपालिकासहित सबै नगरपालिका, गाउँपालिकाका हरेक वडाहरुका स्वास्थ्य सस्ंथाबाट औषधी खुवाउनका लागि केन्द्र तोकिएको जनस्वास्थ्य कार्यालयले जनायो । जिल्लाका १४ वटै स्थानीय तहहरुको सहकार्यमा भिटामिन ‘ए’ का साथै १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको खोप अधिकृत अनिल मिश्रले जानकारी दिए ।

पर्साका ५२ हजार ३६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने उनले बताए । उनका अनुसार ६ महिनादेखि १२ महिनासम्मका बालबालिकालाई आधा क्याप्सुल, १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल भिटामिन ए खुवाइन्छ ।

यसैगरि ४५ हजार ५०६ जनालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको उनले सुनाए । १ देखि २ वर्षसम्मका बालबालिकालाई आधा चक्की र २ वर्षदेखि ५ वर्ष समूहका बालबालिकालाई १ चक्की जुकाको औषधी खुवाइन्छ ।

भिटामिन ‘ए’ र जुकाको औषधी ख्वाउन आएकामध्ये यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा पठाई खोप लगाउने व्यवस्था पनि मिलाइएको छ । यसका लागि स्थानीय तहहरुले सबै वडा र पाएक पर्ने स्थानमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने अधिकृत मिश्रले जनाए ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७९४ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरेको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार