Logo

७ वैशाख,वीरगञ्ज । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएको एक साता बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छैन । यस शैक्षिक सत्रका लागि पर्सा जिल्लाका १४ वटै स्थानीय तहका सामूदायिक विद्यालयहरुले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ भर्ना अभियान तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउनबाट वञ्चित हुनुपरेको हो ।

जिल्लाका कतिपय पालिकाले पाठ्यपुस्तक खरिदका लागि बिद्यालयको खातामा रकम नपठाएकाले बिद्यालयले खरिद गर्न नसकेका हुन् । यस्तै कतिपय बिद्यालयको भने खातामा रकम आएपनि विद्यालयले किताब खरिद नगरेको जनाइएको छ । ठोरी, जीराभवानी, जगरनाथपुर गाँउपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा पाठ्यपुस्तकको रकम पठाएपनि बिद्यालयमा आइपुगेका छैनन् ।

ठोरी गाँउपालिकाका शिक्षा शाखा प्रमुख भोपाल जोशीले सम्पूर्ण बिद्यालयमा पहिला नै रकम पठाएको बताए । यसपालिका भित्रका सम्पूर्ण विद्यालयका लागि पाठ्यपुस्तकको अर्डर भइसकेको र सबै बिद्यालयमा छिटै बितरण प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।

उता पटेर्वासुगौली, सखुवाप्रसौनी गाँउपालिका र पर्सागढि नगरपालिकामा पाठ्यपुस्तक खरिदका लागि रकम नपठाएका प्रधानाध्यापकहरुले गुनासो गरेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित नेरा मावि सिरही सथवलका प्रधानाध्यापक दिलिप बुढाथोकीका अनुसार पालिकाले पाठ्यपुस्तकको रकम नपठाए पनि कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक उधारोमा खरिद गरी वितरण थालेको जानकारी दिए ।

कक्षा ६ भन्दा माथिल्लो कक्षाका पाठ्यपुस्तक भने पालिकाले रकम पठाएपछि खरिद गरी वितरण गर्ने उनले बताए । पटेर्वासुगौली गाँउपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पन्जियारले आजदेखि सामुदायिक बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण सुरु भएको बताए ।

गाँउपालिकाको कार्यालयबाट पाठ्यपुस्तक खरिदका लागि रकम बिद्यालयहरुमा हालसम्म पठाउन नसकिएको पन्जियारले बताए । तर पनि बिद्यालयका प्रअहरुले उधारोमा किताब खरिद गरी आजबाट बितरण भइरहेको उनको भनाइ छ । पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले आफू तालिममा सहभागी हुन बाहिर आएकाले पाठ्यपुस्तक खरिदका लागि रकम बिद्यालयको खाता पठाउन नसकेको स्विकारे ।

तालिममा आउनुअघि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पर्साले निकासा निकासा नपठाएकाले सो रकम पठाउन नभ्याएको अधिकृत भट्टले बताए ।


सम्बन्धित समाचार