Logo

८ वैशाख,वीरगञ्ज । नेपाल आदिवासी जनजाति महासंघ वीरगञ्ज महानगर समितिले आज निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ । किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोखलपुर स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ वीरगञ्ज महानगर समितिकी अध्यक्ष रोशनी श्रेष्ठको अध्यक्षतामा भएको शिविरको प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले मानवको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग आँखाको स्वास्थ्य उपचारका लागि संस्थाले राखेको परीक्षण शिविर निकै सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका मधेस प्रदेश ब्यूरो प्रमुख बालेश्वर गौरोले आँखा नभए मानव जीवन नै अन्धाकार हुने भएकोले यसको नियमित परीक्षण आवश्यक रहेको बताउनुभयो । अहिलेको सुक्खा मौसम र प्रदूषणले आँखामा विभिन्न खालका समस्याहरु देखा पर्ने भएकोले नेपाल आदिवासी जनजाति महासंघ महानगर समितिले ठिक समयमा आँखा परीक्षण शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्यहरु विरेन्द्र राय थारु, शेख अमिरुल हसन, बलराम यादव, किरण आँखा अस्पतालकी डा.नेहा साह, नेपाल रेडक्रस सोसाईट पर्साका सदस्य शिवनाथ यादव, सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो । महासंघकी नगर सहसचिव एञ्जल चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत महासंघका बरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङले गर्नुभएको र कार्यक्रमको बारेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इञ्चार्ज निरज पिठाकोटे मगरले प्रकाश पार्नुभएको महासंघ नगर समिति कोषाध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा किरण आँखा अस्पतालका आँखा रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ सहितको टोलीले आँखा परीक्षण गरेका छन् ।


सम्बन्धित समाचार