Logo

१० वैशाख,वीरगञ्ज । एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ ।

अस्ति शनिवार वीरगञ्जको तापक्रम ४२, भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउत कमकरका अनुसार आज बिहान पौने ९ बजे वीरगञ्जको तापक्रम २३. ५ डिग्री सेल्सियस थियो । अहिले भने वीरगञ्जको तापक्रम ४२ डिग्री पुगिसकेको छ । यसरी वीरगञ्जको तापक्रम नियमित रुपले ४० डिग्री कटिसकेको छ ।

हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ’लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु’ चलेको घोषणा गरिन्छ ।

यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने लु’ चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले जानकारी दिए । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उहाँको भनाइ छ । महाशाखाकाअनुसार आज मधेश प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

गर्मी अत्याधिक बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विशेषगरी गर्मीका कारण ज्याला मजदुरी गर्ने, रिक्सा चालक ठेला चालक, बालबालिका, वृद्धवृद्धा तथा अति विपन्न परिवारलाई सास्ती भएको छ । यसैबिच बढ्दो गर्मीबिच वीरगञ्जमा दिनमा र रातमा विद्युत अवरुद्ध हुँदा महानगरबासीलाई सास्ती भएको छ ।

दिनभर चर्को घाममा हिड्नुपर्ने र रातको समयमा लाइन जाँद थकान मेट्न समेत नपाउने स्थानीयहरुको गुनासो छ ।


सम्बन्धित समाचार