Logo

१० वैशाख,वीरगञ्ज । वीरगञ्जमा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।

बुद्धिचाल संघका पर्सा जिल्ला अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले गरे । कार्यक्रममा बोल्दै एसपी ढुङ्गेगले प्रतियोगीताले बुद्धिको विकास गर्ने र नयाँ कुराको सोचमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य छेदुप लामा, मुटुरोग विशेषज्ञ डा. अच्युतालाल कर्ण, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतले शुभकामना व्यक्त गर्दै यस्ता प्रकारका गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

प्रतियोगीताका चिफ आर्बिटर एवम् नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । वीरगञ्ज लगायतका अन्य ठाउँबाट आएका ननरेटेड खेलाडीलाई रेटेड खेलाडीसँग खेलेर रेटेड खेलाडी बन्ने अवसर पनि यस प्रतियोगीताले प्रदान गर्ने परागको भनाई छ ।

टुर्नामेन्ट निर्देशक सुलभ केसीले स्वागत मन्तव्य राख्दै प्रतियोगीत आयोजना गर्नुको उद्देश्यका बारेमा अवगत गराए । उनकाअनुसार राष्ट्रिय स्तरका चेस खेलाडी उत्पादन गर्नुका साथै चेस खेलतर्फ आकर्षित गर्ने अभिप्रायले प्रतियोगीताको आयोजना गरिएको हो । बुद्धिचालप्रति अभिरुची जागृत गराउनुका साथै कुशल बुद्धिचाल खेलाडी उत्पादन गर्न प्रतियोगीताले सघाउ पुग्ने उनको विश्वास छ ।

प्रतियोगीतामा देशैभरका ६१ जना छात्र र १४ जना छात्रा गरि ७५ जनाको सहभागीता छ । सहभागीलाई ३ वटा उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए । १० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।

उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । सहभागीहरुलाई ३ दिनसम्म खाना तथा बस्नको व्यवस्था पनि आयोजकले नै गरेको छ । वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, प्याब्सन वीरगञ्ज, वीरगञ्ज युवा समाज, एम्स इन्सिच्युट, क्वेष्ट फर्मा, टेराबाईट सफ्टवेयर, ब्युटिफुल स्माईल डेन्टल लगायतका संघ संस्थाले प्रतियोगीतामा सहयोग गरेका छन् । प्रतियोगीता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बुद्धिचाल महासंघकी केन्द्रीय सदस्य सुशिला गुरुङ्, पूर्व नेशनल च्याम्पियन आर्विटर मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, वीरगञ्ज युवा समाजका अध्यक्ष सञ्जिव थापा, खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतको उपस्थिती रहेको थियो ।

यसअघि गत वर्ष पुषमा पनि वीरगञ्जको मुनलाईट माविले वृहत स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगिता बैशाख १२ गते बुधवारसम्म चल्नेछ ।


सम्बन्धित समाचार