Logo

१२ वैशाख, पर्सा । पर्साको ठोरीमा रहेको आँखा अस्पताल स्थापना भएको एक दशक पुगेको छ । भरतपुर आँखा अस्पतालको सहयोगमा २०७२ वैशाख १२ गते स्थापना भएको सो आँखा अस्पतालको दशौं स्थापना दिवस एक कार्यक्रम गरेर आज मनाइएको छ ।

अस्पताल सहयोग समितिको संयोजक एवम् ठोरी -२ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाको सभापतित्व एवम् ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले आँखा अस्पतालले पुर्याएको सेवा बारे चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ठोरी गापा अध्यक्ष श्रेष्ठले अस्पतालले ग्रामीण क्षेत्रमा पुर्याएको सेवाको प्रशंसा गर्दै पालिकाको तर्फबाट पनि आगामी दिनमा सहयोग रहने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, नेत्र ज्योति संघ भरतपुर चितवनका उपसभापती तेजेन्द्र खड्का , सरस्वती माविका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल,अस्पतालका सल्लाहकार प्रकाश खनाल लगायतको उपस्थिति थियो । कार्यक्रममा नेत्र ज्योति संघ भरतपुर अस्पताललाई प्रविधि ,सेवा र भौतिक संरचनामा स्तरोन्नति गर्ने योजनामा रहेको समेत जानकारी गराइएको थियो । यस्तै अस्पतालका डा चन्द्र श्रेष्ठले अस्पतालको वार्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो।


सम्बन्धित समाचार