Logo

१३ वैशाख,वीरगञ्ज । धनुषामा छोरी अरुसंग प्रेम गरेर भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच आज झडप भएको छ ।
धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

औरहीको पौडेसर चोकको सडक खुलाउन जाँदा भएको झडपमा प्रहरीले ९ राउण्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन् ।
उनका अनुसार छोरी भागेको घटनामा प्रहरीले असयोग गरेको भन्दै परिवारजनले विहानदेखि सडक अवरुद्ध गरिरहेका थिए ।

दोस्रो पटक पुनः सडक अवरुद्ध गर्दा खुलाउन गएको बेला प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा बर्साउन थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
उनले भने,‘हामी विहान गएर पनि पीडित परिवारजनलाई सम्झाएका थियौं, तर फेरि पछि उहाँहरुबाट सडक अवरुद्ध भयो । अनि हामी त्यो अवरुद्ध खुलाउन जाँदा उल्टै हामीमाथि ढुंगामुढा प्रहार हुन थाल्यो । त्यसपछि प्रहरीले बल प्रयोग गर्दै अश्रुग्यास प्रहार गरेको हो ।’

प्रहरीले भीड नियन्त्रणका लागि ९ राउण्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता अवाले बताए । उनका अनुसार ७ राउण्ड सशस्त्र प्रहरी र २ राउण्ड नेपाल प्रहरीले अश्रुग्यास चलाएको हो ।
प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३ जना प्रहरी घाइते भएका छन् । योसंगै प्रदर्शनकारीहरुले नेपाल प्रहरीको गाडीमा तोडफोडसमेत गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार