Logo

जिराभवानी गापा वडा नं २ सेढवा मुसहर बस्तीमा रहेको शौचालयको रिंगको अवस्था

१३ वैशाख,सेढवन । खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तर्गतका पूर्ण खुल्ला दिशामुक्त क्षेत्र अभियान पर्सा जिल्लामा अलपत्र बनेको छ ।

२०७६ असोजमा पर्सा र बारा जिल्ला सहित अधिराज्य नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको थियो । तर तत्कालीन गाउँ विकास समिति तथा गाउँपालिका वडाहरुमा खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई अस्थायी शौचालय निर्माण गरिएको थियो ।

अधिकांशका घरमा शौचालय निर्माणका लागि गाविसबाट बजेट विनियोजन गरी रिङ्ग तथा प्यान सेट समेत वितरण गरियो ।
दलित तथा विपन्न परिवारले दुई तीन वटा रिङ्ग तथा प्यान सेट जडान गरी खरको भित्ता र प्लास्टिकको छाना राखेर शौचालय निर्माण गरी देखावटी रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे । जुन शौचालय अहिले प्रयोगविहिन अवस्थामा छ । सर्वसाधारणहरु खुल्ला रुपमा दिशा पिसाब गर्ने क्रम पनि बढ्दो छ ।

ग्रामीण भेगका मुख्य तथा सहायक सडकहरुमा खुल्ला रुपले दिशा पिसाब गरेको देखिन्छ । यस क्षेत्रका पचास प्रतिशत भन्दा बढि नागरिकहरुले खुल्ला रुपमा दिशा पिसाब गर्ने गरेको जानकारी प्राप्त भएको छ ।
ग्रामीण भेगका नागरिक चेतनशील नभएर पनि पूर्ण सरसफाई कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् । कतिपय परिवारमा शौचालयको व्यवस्था रहेपनि खुल्ला रुपमा शौच गर्ने गरेको देखिन्छ । पूर्ण सरसफाई कार्यक्रम संचालनका लागि संघ, प्रदेश तथा स्थानीय सरकारको जिम्मेवारी हो । तरपनि पूर्णत् सबै ठाउँमा यस्ता कार्यक्रम सञ्चालन भएका छैनन् ।

सन् २०२० मा यूएन हैबिटाटले जिल्लाको जीराभवानी, पटेर्वासुगौली गाउँपालिका र बहुदरमाई नगरपालिकामा पूर्ण सरसफाई कार्यक्रम संचालन गरिएका यूएन हैबिटाट पर्साका पूर्व संयोजक सरोज चौरसियाले बताए ।
सो कार्यक्रम दश महिनाको लागि संचालन भएकोले खासै प्रभावकारी नभएको उनले बताए । यस कार्यक्रमका लागि विभिन्न संघ संस्थाले काम गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराई सकेकाले स्थानीय तहले स्वयम् यसका लागि काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अहिले स्थानीय तहलाई काम गर्न सहजीकरण गर्ने गैरसरकारी संस्था नभएकाले पनि कार्यक्रम संचालनमा आउन नसकेको चौरसिया बताउँछन् ।
यस्ता कार्यक्रमका लागि स्थानीय तहमा एउटा शाखा नै बिस्तार गरी काम गर्ने निति भएपनि यसलाई कार्यन्वनमा आएको छैन । वीरगंज महानगरपालिका बाहेक अन्य कुनै पनि स्थानीय तहमा शाखा नरहेको र कसैले यस्ता कार्यक्रम सञ्चालनमा ल्याएका छैनन् ।

पूर्ण सरसफाई कार्यक्रम निरन्तर रुपमा संचालन गरे मात्रै प्रभावकारी हुने जानकारहरु बताउँछन् । स्थानीय सरकारको बेवास्ताका कारण प्रभावकारी हुने जानकारहरुको ठम्याइ छ ।
शौचालय नभएकोलाई परिचय पत्र प्रदान नगरी सेवा प्रवाहमा कडाइ गर्ने, नयाँ घर निर्माण गर्दा अनिवार्य शौचालय सहितको नक्सा पारित गर्ने लगायतका पालिकाले निरन्तर काम गरे पूर्ण सरसफाई कार्यक्रम सफल हुने जानकारहरुले जनाएका छन् ।


सम्बन्धित समाचार