१७ बैशाख, वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मिसन ८४ मा एमालेले बहुमतको सरकार बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ । नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको आज उदघाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सबै पार्टीलाई जनताले हेरिसकेको र नयाँ भनाउदा नक्कली पार्टीहरुलाई पनि हेरिसकेकोले एमालेको विकल्प नरहेको बताउनुभयो ।
उहाँले देशको राजनीतिक अस्थिरताले समस्या पारेको बताउदै अब आउने निर्वाचनमा जुनसुकै पार्टीको बहुमत आउनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचनमा एमाले बाहेक कुनै पनि पार्टीको बहुमत नाउने दावी पनि गर्नुभयो । नेकपा एमाले बाहेक अरु पार्टीले बहुमत ल्याएर देश विकास गर्न सम्भव पनि नरहेको बताउदै आर्थिक विकास र समृद्धिको कुरा एमालेले गर्ने बताउनुभयो ।
नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टीको नयाँ नेतृत्व चयन प्रकृया भोली हुने बन्दसत्रपछि शुरु हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र भोली क्लासिक बंक्वेटमा हुनेछ । बन्दसत्रपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु हुनेछ । नयाँ नेतृत्वको लागि पर्सामा तीनजना आकांक्षी देखिएका छन् ।
अध्यक्षका लागि अहिलेका संयोजक डाक्टर विश्वम्भर शर्मा, पूर्व अध्यक्ष जयप्रकाश थारु र शिव पटेलको नाम चर्चामा छ । पटेल र थारु केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षक हुन् । भने वर्तमान संयोजक डाक्टर विश्वम्भर शर्मा संस्थापन पक्षका हुन् । त्यस्तै सचिवमा पनि दुईजनाको नाम चर्चामा आएको छ ।
सचिवमा केन्द्रीय प्रचार विभाग सदस्य तथा वीरगन्ज महानगरपालिका उपाध्यक्ष महेस दास र जिल्ला सचिवालय सदस्य शिवजी गुप्ताको नाम चर्चामा छ ।