Logo

२२ वैशाख,वीरगञ्ज । २०७४ साल पुष ५ गते बुधबार बिहान वीरगन्ज महानगरपालिकाको लिपनी विर्ता स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुईजना अग्नि नियन्त्रक सहित ३ जनाको मृत्यु भयो । उद्योगमा ग्यास लिक भएर लागेको आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकल समेत जल्यो ।

उद्योगमा लागेको आगो नियन्त्रणका लागि गएको दमकल समेत जलेपछि त्यसको नियन्त्रणका लागि अर्को कुनै प्रविधि र उपाय भएन । तत्तकालिन पर्साका प्रमुख जिल्ला अधिकारी विनोद कुमार सिंहले ग्यास उद्योगमा लागेको आगो नियन्त्रणका लागि फोम सहितको दमकल ल्याउन भारतीय समकक्षीहरुसँग पनि पहल गरे । तर, सम्भव भएन ।

२०७६ वैशाख १७ गते मंगलबार वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा रहेको पेन्ट र त्यसमा प्रयोग गरिने केमिकल्स (रसायन) गोदाममा भीषण आगलागी भयो । श्रीपुरस्थित ओम आश्रम नजिकै अजय वर्णवालको लक्ष्मीदीप इन्टर प्राइजेजको गोदाममा भएको आगलागी ६ वटा वारुण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको रातभरको प्रयासमा मात्रै नियन्त्रणमा आयो ।

२०८० मंसिर १७ आइतबार जीतपुरसिमरा–८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आगलागी भयो । आगलागीबाट १ करोड १५ लाख रुपैंयाको क्षति भयो । नेपाली टायल उत्पादन गर्ने पहिलो उद्योग सेरामिक इण्डष्ट्रिजमा लागेको आगो नियन्त्रणका लागि त्यसक्षेत्रका ४ वटा दमकल परिचालन गरिएको थियो । २०८१ बैशाख ९ गते आईतवार पुनः सोही उद्योगमा आगलागी भयो ।

त्यसयता देशभर आगलागीका घटना बढेर जनधनको क्षति भईरहँदा वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यासायीहरुलाई भने आगलागीको जोखिमको चिन्ताले सताएको छ । नेपालको सबैभन्दा धेरै उद्योग कलकारखाना रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरमा आगलागीको जोखिम उच्च छ ।

तर, बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा आगलागी नियन्त्रणका लागि निजीक्षेत्रसँग एउटा पनि दमकलको व्यावस्थाा छैन । अर्बौ लगानीका उद्योगहरु छन् । तर, एउटा दमकल समेत अहिलेसम्म औद्योगिक करिडोरमा छैन । नेपाल सेरामिक्स लागेको सामान्य आगो समयमै निभाउन नसक्दा ठुलो क्षति भएको छ । शुरुमा सानो आगो ३÷४ घण्टा दमकलको प्रतीक्षा गर्दागर्दै फैलिएर ठूलो क्षति भयो । उद्योगहरूमा आगलागी नियन्त्रण सम्बन्धी उपकरणहरू भएपनि त्यसलाई प्रयोग गर्ने सामान्य ज्ञान नहुँदा ठुलो क्षति हुने गरेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले औद्योगिक करिडोरमा आगागी नियन्त्रणका लागि एउटा वारुणयन्त्रको माग गरेको बर्षौ भईसक्यो तर अहिलेसम्म सरकारले नदिएको गुनासो निजीक्षेत्रको छ । ग्यास उद्योगमा भएको आगलागीको घटनाको प्रत्यक्ष साक्षी बनेका विनोद सिंह गृहमन्त्रालयको सचिव समेत भए ।

तर, १० वर्षदेखि सरकारसँग एउटा दमकल माग गरिरहेका वीरगन्ज उद्योग वाणिज्य संघले अहिलेसम्म पाएको छैन । प्रदेश सरकार गठन भएपनि भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश परिवहनका लागि ५ वटा बस र दमकल पनि खरिद गरेको थियो । तर, वीरगन्ज पथलैया औद्योगिक करिडोरका लागि एउटा पनि दमकल नपाएको उद्योगी व्यावसायीको गुनासो छ ।

उद्योगी व्यावसायीहरु आफैपनि एउटा दमकल खरिद गर्न सक्षम छन् । एउटा दमकलको लागि राज्यकै मुख ताकिरहुनपर्ने अवस्था होईन । विपद जोखिम न्यूनीकरणका लागि एउटा दमकल राज्यसँग निजीक्षेत्रले आशा गर्छ भने राज्यले पनि दिनुपर्ने दायित्व हो । तर, औद्योगिक करिडोरमा न त निजीक्षेत्रले दमकल खरिद गरेको छ, न राज्यले उपलब्ध गराएको छ । राज्य र निजीक्षेत्र एकअर्काको मुख ताकाताकले औद्योगिक करिडोरमा आगलागीको जोखिमसँगै करिडोरका वस्ती पनि जोखिममा परेको छ ।


सम्बन्धित समाचार