Logo

२३ बैशाख, काठमाडौं । प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी निकट मोर्चा आम सम्पर्क मञ्चले गरेको प्रदर्शनका क्रममा दुईदर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्न माग गर्दै त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालय अगाडि गरेको प्रदर्शनको क्रममा दुईदर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रञ्जु साह, चन्दा साह, सञ्जय साह, उपेन्द्र साह, मनोज यादव, आर्या पाण्डे कनक सिंह, विनोद साह, राजकुमार विके, बलभद्र आचार्य, विजय लामा लगायत एकदर्जन रहेको आम जनता पार्टी (आजपा) ले जनाएको छ । आम सम्पर्क मञ्चले भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग मार्फत सरकार समक्ष ६ बुँदे माग सहित आज भन्सार सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

आजपाले राखेका मागहरु
१.भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने ।
२.कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्नेे ।
३.भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गरिनुपर्ने ।
४.प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने ।
५.घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था हुनुपर्ने ।
६.भन्सारबाट उठेको राजस्व रकमको २५% सम्बन्धित प्रदेशलाई र २५% सीमासँँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने ।


सम्बन्धित समाचार