Logo

९ जेठ, वीरगञ्ज । सरकारले पोलियो विरुद्धको आई.पी.भी खोप अभियान यही जेठ १३ गतेबाट शुरु गर्न लागेको छ । खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको आई.पी.भी खोप अभियान शुरु हुन लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा.अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिए । खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । उहाँका अनुसार सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आई पी भी खोप अभाव भएको थियो ।

उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेको खोप अभियान सुरु गरेको उहाँले जिकिर गरे । उनले भने ‘यो अभियानको लक्ष्य आई पी भी खोप आपूर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर ती बालबालिकालाई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने रहेको छ।’

राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले अभियानको माध्यबाट एक मात्र आई पी भी खोप लगाउन सिफारिस गरेको हो । खोप सुरक्षित भएकोले ढुक्कसँग लगाउन उहाँको अनुरोध छ।

नेपालमा पोलियोका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता पोलियाका बिरामी भेटिएका छैनन् । गौतमका अनुसार ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ ।

पर्सामा यसको तयारी कस्तो छ ?


यही जेठ १३ गतेदेखि शुरू हुने लागेको पोलियो विरुद्धको आईपिभी खोप अभियानका लागी पर्सा जिल्लामा तयारी गरिएको छ ।

पर्सामा यो अभियान दुई चरणमा संचालन गरिने योजना रहेको स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन खोप अधिकृत जयमोद ठाकुरले बताए ।

पहिलो चरणमा जेठ १३ देखि  १६ गतेसम्म र अर्को २० देखी २७ गते सम्म गरेर दुई चरणमा खोप अभियान संचालन गरिनेछ । पहिलो वीरगंज महानगरका वडा १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई, पकहामैनपुर, धोबिनी, विन्ध्यवासिनी, ठोरी गाउँपालिका गरी आठवटा पालिकामा र जेठ २० देखि २७ गतेसम्म बाँकी ६ वटा पालिकामा खोप अभियान सञ्चालन गरिने उनले बताए ।

जनशक्ति तयार गर्न १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख र ११२ जना स्वास्थ्य इन्चार्जहरूलाई खोपबारेमा अभिमुखीकरण तालीम दिईदै छ ।

अभिमुखीकरण कार्यक्रममा पहिलो चरणको खोप अभियानको लागि ११० जना खोप कार्यकर्ता र ३२८ जना शिक्षक गरी ४३८ जना जनशक्ति तयारी गरिदै छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साह, फोकल पर्सन ठाकुर, कोल्डचेन अधिकृत मोहनलाल साह र जनस्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठले अभिमुखीकरण गराउँदै आएका छन् ।


सम्बन्धित समाचार