२४ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको नगर परिषद् अझै हुन सकेको छैन । झण्डै दुइ महिना बितिसक्दा पनि अझै नगर परिषद् हुन नसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगर प्रमुखले बजेट तथा योजनामा मनोमानी गर्न थालेपछि नगर परिषद् हुन नसकेको जनाइएको छ ।
संवैधानिक प्रावधान अनुसार ३० असारभित्र गरिसक्नु पर्ने नगर परिषद् मेयर सिंघासन साह तेलीको मनपरीले नगर परिषद् हुन नसकेको वडाअध्यक्षहरुको गुनासो छ । बहुदरमाइ नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष दिनेश यादवले मेयरले पालिकामा मनपरी बजेट राख्न खोजेपछि विवाद चर्किएको बताए ।
त्यही विवादको कारण नगर परिषद्मा असर पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेयरले आफ्नो आसेपासेका अनुसार बजेट राख्न खोजिरहेका छन्, वडाअध्यक्षहरुसंग कुनै तालमेल नगरीकन । वडाअध्यक्षहरुको योजनालाई पनि बेवास्ता गर्न खोजेपछि विवाद चर्किएको हो । मेयर साहेबको मनपरी अन्त्य नभएसम्म हामी सहमति गर्दैनौं ।’ उनका अनुसार वडाअध्यक्ष पनि जनतप्रतिनिधि नै हुन, जनताबाट चुनिएर आएछन् ।
उनले भने, ‘हामीले पनि मेयरसाहेब जस्तै जनताको विकासका लागि काम गर्नुपर्छ, काम गरिएन भने जनताले हामीलाई छाँड्दैनन् । तर मेयर साहेबले त्यसको परवाह छैन, आफ्नै मनपरी छ । मूलतः यहीकारण हो विवादको ।’
आफूले नै सबै योजना चलाउन थालेपछि पालिका अधिकांश सदस्यहरु मेयरको विरोध उत्रिएको उनको भनाइ छ । जसकारण नगर परिषद् प्रभावित बनेको उनको ठहर छ । यो विवादका प्रतिक्रिया लिँदा बहुदरमाइका मेयर साहले भने आफ अहिले बोल्न सक्ने अवस्थामा नरहेको बताए ।
उनले भने, ‘म अहिले अस्पतालमा छु, विरामी छु । अन्य विषयमा तत्कालै कुराकानी गर्न सक्दिन् ।’ मेयर साहले भागबन्डामा बढी हिस्सा लिन खोज्दा विवाद चुलिएको पालिका सदस्यहरुको आरोप छ ।