२७ कात्तिक,काठमाडौं। नेपालले जारी यू–१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको हो।
पूजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन्। त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन्। यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्बाधिक ठुलो टोटल हो । यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ। नेपालले यस प्रतियोगितामा बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।

















