
२९ फागुन, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा चारबर्षमा २४ हजार ७४७ जना शिशु जन्मिएका छन् । वीरगञ्ज महानगर पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७७ चैत १ देखि २०८१ पुस २ सम्म १३ हजार ३७७ छोरा र ११ हजार ३७० छोरीको जन्मदर्ता भएको छ । सोही अवधिमा ४ हजार ५९० जनाको मृत्यु दर्ता भएको छ ।
महानगरमा बसाइँसराइको क्रम रोकिएको छैन । सो अवधिमा अन्यत्रबाट १ हजार ३५८ घरधुरी अर्थात् ५ हजार ४५१ व्यक्ति वीरगञ्ज भित्रिएका छन् भने १ हजार २६८ घरधुरी अर्थात् ४ हजार ७८८ व्यक्ति बाहिरिएका छन् । बसाइँसराइको अनुपात धेरै फरक नभए पनि वीरगञ्ज आर्थिक राजधानी भएकाले उद्योग र व्यापारका कारण जनघनत्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनघनत्व २,०६२ प्रति वर्गकिलोमिटर रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार वीरगञ्ज महानगरको कुल जनसंख्या २ लाख ७२ हजार ३८२ रहेको छ । जसमा १ लाख ४२ हजार १९५ पुरुष र १ लाख ३० हजार १८७ महिला छन् । यहाँ कुल ४७ हजार ११४ परिवार रहेको तथ्यांक छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार तथ्यांकमा पौने ३ लाख जनसंख्या देखिए पनि दैनिक ४ देखि ५ लाख व्यक्तिको बसोबास तथा आउजाउ हुन्छ । उनले भने, ‘यो आर्थिक राजधानी हो, यहाँ ठूलो उद्योग, व्यापार र ठूलो नाका छ । दैनिक लाखौंको संख्यामा मानिस आउजाउ गर्छन् ।’
जनसंख्या वृद्धिले वीरगञ्जमा विभिन्न चुनौती थप्दै गएको प्रमुख प्रशासकीय अधिकृत कर्ण बताउँछन् । उच्च जन्मदर र बसाइँसराइका कारण जनघनत्व बढ्दै जाँदा फोहर व्यवस्थापन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समस्या देखिएको छ ।
पछिल्लो समय वीरगञ्ज महानगरपालिकाले योजना बनाएर फोहर व्यवस्थापनमा ध्यान दिँदै स्वच्छ सहर बनाउने प्रयास गरिरहेको छ । तर देशको आर्थिक राजधानी र ठूलो नाका रहे पनि सरकारले बजेटमा विभेद गरिरहेको वीरगञ्जका मेयर राजेशमान सिंहको गुनासो छ ।
मेयर सिंह जनसांख्यिक विवरणअनुसार योजना बनाएर भएरकै स्रोत–साधनबाट जनतालाई सेवा दिने प्रयास गरिरहेको बताउँछन् ।