
११ चैत,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतगणना एक हप्तादेखि रोकिएको छ। मतपेटिकाको सिल नम्बरमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको हो।
१६ वर्षपछि गत मंगलबार सम्पन्न भएको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भएको थियो। तर, मतगणनाको क्रममा एक मतपेटिकाको सिल नम्बर मुचुल्कामा उल्लेख भएको नम्बरभन्दा फरक भेटिएपछि विवाद सिर्जना भएको थियो। यसपछि बिहीबार दिउँसोदेखि मतगणना अवरुद्ध भएको छ, जुन सोमबारसम्म पनि सुचारु हुन सकेको छैन।
मतगणना अवरुद्ध हुनुअघि करिब १४ सय मत गणना गरिएको थियो। सार्वजनिक मत परिणाम अनुसार नेपाल विद्यार्थी समूहका राज कुमार यादव ४२० मतसहित सभापति पदमा अगाडि थिए। नेविसंघका विकास मण्डल धानुक २६१ मत र समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए।
सिल नम्बरमा देखिएको भिन्नतालाई लिएर समाजवादी विद्यार्थी युनियनसहित १० विद्यार्थी संगठनले धाँधली भएको आरोप लगाउँदै निर्वाचन रद्द गरी पुनः निर्वाचनको माग गरेका छन्। उनीहरूले विरोध प्रदर्शन समेत गरिरहेका छन्।
यता नेपाल विद्यार्थी समूह र नेविसंघले भने स्थगित मतगणना तत्काल सुचारु गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।
मतगणना सुचारु गराउन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा सुरक्षा निकायका प्रमुख, क्याम्पस प्रशासन र विद्यार्थी संगठनका प्रतिनिधिबीच छलफल भए पनि निष्कर्ष निस्किएको छैन। क्याम्पस प्रमुख रणजीत यादवले मतगणना सुचारु गराउन प्रयास जारी रहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी अर्यालले पनि सरोकारवाला पक्षसँग छलफल भइरहेको र चाँडै निकास निस्कने विश्वास व्यक्त गरेका छन्।
ठाकुरराम बहुमुखी क्याम्पसमा यस वर्षको स्ववियु निर्वाचनमा ४ हजार २९९ मत खसेको थियो। मतगणनामा देखिएको विवादका कारण विद्यार्थीहरु निर्वाचनको अन्तिम नतिजाको प्रतीक्षामा छन्।