
२८ चैत,काठमाडौं । लामो समयदेखि जारी आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयमा आज भएको वार्तामा महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली वार्तामा बसिरहेको छ।
शिक्षक महासंघले आफ्ना मागहरू पूरा गर्न भन्दै २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको हो। ’वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढ्छौं’ भन्ने भनाइसहित उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक अवरुद्ध पार्दै आन्दोलन गरिरहेका छन्।
यसअघि मुख्य लेनमा मात्र प्रदर्शन गर्दै आएका शिक्षकहरू आज तीनैवटा लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा अवस्था तनावपूर्ण बनेको थियो। प्रहरी र आन्दोलनकारीहरूबीच केहीबेर धकेलाधकेल समेत भएको थियो, यद्यपि ठूलो झडप भने नभएको सुरक्षा स्रोतहरूले जनाएका छन्।
सरकार र आन्दोलनरत पक्षबीच सुरु भएको वार्ताले शिक्षाक्षेत्रमा चलिरहेको अस्थिरता समाधानतर्फ लैजाने आशा गरिएको छ।