Logo

फाईल फोटो

३१ चैत, वीरगञ्ज । पर्साको वीरगञ्जमा उत्पन्न तनाव नियन्त्रण गर्न राजनीतिक दलहरूबीच सर्वदलीय बैठक आज बसेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, बैठकले मध्यान्ह १२ बजेपछि कर्फ्यु हटाउने वा थप समयका लागि जारी राख्नेबारे निर्णय गर्नेछ।

शनिबार हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा ढुंगा प्रहारपछि दुई पक्षबीच भएको झडपले अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासनले आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हवाईफायरसमेत गर्नुपरेको थियो । झडपमा २५ प्रहरी र १२ सर्वसाधारणसहित ३७ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रहरी एसपी गौतम मिश्र पनि घाइते भएका थिए, तर उपचारपछि उनी कार्यमा फर्किसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले वर्तमान अवस्था सामान्य रहेको जनाउँदै, “सर्वदलीय र सुरक्षा समितिको बैठकपछि कर्फ्युबारे निर्णय लिइनेछ,” भने । प्रशासनले शान्ति, सुरक्षालाई प्राथमिकता दिँदै संवेदनशीलता पूर्वक अवस्था व्यवस्थापन गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार