Logo

३ वैशाख, वीरगञ्ज । हिन्दुवादी समुहद्वारा मंगलबार गरिएको प्रदर्शनको क्रममा समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्साले आपत्ति जनाउँदै दोषी उपर कारबाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा, प्रेस सेन्टर नेपाल, पर्सा र प्रेस चौतारी पर्साले मंगलबार राति एकाएक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि आयोजित उक्त प्रदर्शनको समाचार संकलन गर्दै गर्दा एभी न्यूज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी आक्रमणको शिकार भएका थिए । पत्रकार गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै पत्रकारहरूमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले दोषी पहिचान गरी अविलम्ब कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

“प्रदर्शनको समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरू ढुंगामुडा र प्रहरीको लाठीचार्जको निशाना बन्नु अत्यन्तै दुखद, खेदजनक र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो,“ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई भयमुक्त वातावरणमा कार्य गर्न दिन प्रहरी प्रशासनलाई स्पष्ट माग राखेको छ । “प्रहरी प्रशासनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,“ महासंघको विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मीहरूमाथिको आक्रमणले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै महासंघ, प्रेस सेन्टर र प्रेस चौतारीले एक स्वरमा दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।


सम्बन्धित समाचार