Logo

३ वैशाख,काठमाडौं । भारतको प्रमुख विपक्षी दल इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धी र सांसद सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा अदालतमा मुद्दा दायर भएको छ। नेशनल हेराल्ड अखबारसँग जोडिएको विषयमा कंग्रेसका यी दुई शीर्ष नेतासहित सात जना विरुद्ध अभियोग पत्र दर्ता गरिएको हो।

अभियोग पत्रमा कांग्रेस नेता साम पित्रोदा र राजीव गान्धी फाउन्डेसनका ट्रस्टी सुमन दुबेलाई पनि आरोपी बनाइएको छ। इन्डियन नेसनल कंग्रेस पार्टीले भने यो कदमलाई प्रतिशोधात्मक राजनीति भएको आरोप लगाएको छ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार त्यहाँको संस्था इमफोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले लामो अनुसन्धानपछि यी दुई वरिष्ठ नेताविरुद्ध अभियोगपत्र दायर गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ। उनीहरूविरुद्धको अभियोगपत्र भारतको विशेष पीएमएलए अदालतमा अप्रिल ९ मा दायर गरिएको थियो। अदालतका विशेष न्यायाधीश विशाल गोग्नेले उक्त अभियोग पत्र स्वीकार गर्दै सुनुवाइको मिति अप्रिल २५ का लागि तोकेका छन्।

यस महिनाको सुरुमा ईडीले नेशनल हेराल्ड अखबार प्रकाशन गर्ने एसोसिएटेड जर्नल्स लिमिटेडको नाममा मुम्बई, दिल्ली र लखनउमा रहेको ६६१ करोड भारतीय रुपैयाँ बराबरको अचल सम्पत्ति जफत गर्ने प्रक्रिया सुरु गरेको थियो।

भारतको विपक्षी दल कांग्रेस पार्टीले नेसनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध ईडीले चालेको कदमको विरोधमा केन्द्र सरकारविरुद्ध देशभर जनप्रदर्शन गर्ने घोषणा गरेको छ।
यसैबीच, कांग्रेस कार्यकर्ताहरूले नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् भने देशभरका ईडी कार्यालय अगाडि प्रदर्शन जारी रहेको बताइएको छ।
कांग्रेस पार्टीका नेता उदित राजले आफ्ना कार्यकर्ता र जनतालाई सोनिया र राहुलविरुद्ध लगाइएका आरोपहरू झुटो भएको बारेमा जानकारी गराउन आन्दोलनको घोषणा गरेको बताएका छन्।


सम्बन्धित समाचार