
७ वैशाख,काठमाडौं ।बंगलादेशका एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरणपछि हत्या गरिएको घटनालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ। भारतले बंगलादेशको अन्तरिम सरकारलाई अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाएको छ।
उत्तरी बंगलादेशको दिनाजपुर जिल्लाका बासिन्दा ५८ वर्षीय भाबेशचन्द्र रायलाई गत बुधबार मुस्लिम अतिवादीहरूले घरबाटै अपहरण गरेका थिए। गम्भीर घाइते अवस्थामा घरमा फर्काइएका उनको केही क्षणमै मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन्।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशमा हिन्दू अल्पसंख्यक नेता भाबेशको अपहरण र बर्बर हत्याको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै अन्तरिम सरकारसँग जवाफ माग गरेका छन्। उनले यो हत्या बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि भइरहेको व्यवस्थित उत्पीडनको शृंखलाको रूपमा आएको बताए। यसअघि पनि भएका यस्ता आपराधिक घटनाका दोषीहरूले उन्मुक्ति पाइरहेको भन्दै भारतले यस घटनाको निन्दा गरेको छ। भारतले बंगलादेशको अन्तरिम सरकारलाई कुनै बहाना नगरी र भेदभाव नगरी हिन्दूसहित सबै अल्पसंख्यकको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ।
यसअघि पनि भारतले बंगलादेशलाई हिन्दू अल्पसंख्यकको सुरक्षाप्रति पटकपटक ध्यानाकर्षण गराएको थियो।
यसैबीच, नेपाल सरकारले भने छिमेकी देशमा भइरहेको हिन्दू अल्पसंख्यकमाथिको उत्पीडनबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। विश्वको सबैभन्दा धेरै हिन्दू जनसंख्या भएको देशको सरकारले यस विषयमा मौनता साँधेको भन्दै आलोचना भइरहेको छ। यसबारेमा नेपाल सरकारको प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकाल सम्पर्कमा आउन नचाहेको समाचारमा उल्लेख छ।
भारतको यो कडा प्रतिक्रियाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाको विषय अन्तर्राष्ट्रिय स्तरमा थप चर्चामा आएको छ।