
१० बैशाख, काठमाडौँ । भारतको नियन्त्रणमा रहेको काश्मिरको अनन्तनाग जिल्लामा भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हमलामा ज्यान गुमाएका १६ जनाको नाम सार्वजनिक गरिएको छ, जसमा एक जना नेपाली नागरिक सन्दीप सुवेदी पनि रहेका छन् ।
भारतीय मिडिया एबीपी न्यूजले प्रकाशित गरेको सूचीमा सुवेदीको नाम उल्लेख भए पनि उनको ठेगाना भने खुलाइएको छैन । घटनामा एक जना यूएईका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ भने बाँकी अधिकांश भारतका विभिन्न राज्यका पर्यटकहरू रहेका छन् ।
भारतीय सुरक्षास्रोतका अनुसार, आतंककारीहरूले अनन्तनाग जिल्लाको पहलगामस्थित पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेर हमला गरेका थिए ।
भारतीय सञ्चारमाध्यमहरूले हमलालाई धार्मिक कट्टरताबाट प्रेरित भयावह हमला भन्दै रिपोर्ट गरेका छन् । घटनामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेवियाको भ्रमण तत्काल रद्द गरी स्वदेश फर्कने निर्णय लिएका छन् ।
यस घटनाले पर्यटकीय काश्मिर क्षेत्रमा पुनः असुरक्षा र आतंकको त्रास फैलाएको छ ।