Logo

१० बैशाख, वीरगञ्ज । वीरगंज महानगरपालिकालाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले महानगरपालिका र स्थानीय व्यवसायीहरूबीच आज एक महत्वपूर्ण सहमति भएको छ। महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच भएको छलफलमा व्यवसायीहरूले पान पसलमा अनिवार्य डस्टबिन राख्ने र ग्राहकहरूलाई जथाभावी थुक्न तथा फोहोर गर्न नदिन सचेत गराउने प्रतिबद्धता जनाएका छन्।

सहमति अनुसार अबदेखि विद्यालय र अस्पताल जस्ता संवेदनशील क्षेत्रको आसपासमा गुट्खा तथा सुर्तीजन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाइ गरिने भएको छ। विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस सहमतिलाई महानगरलाई स्वच्छ र मर्यादित शहर बनाउने अभियानको एक महत्वपूर्ण कदम भएको बताए । उनले भने, “हामी वीरगंजलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।”

व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचाररत बिरामी र आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सीमित र अनुशासित बिक्री प्रणालीमा सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

व्यवसायी संघले आगामी दिनमा पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न, र्‍यापर जथाभावी नफाल्न र फोहोर नगर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। यसका लागि जागरण र्‍याली प्रदर्शन गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। साथै, सबै व्यवसायीहरू महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय सञ्चालन गर्न सहमत भएका छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले अब महानगरले बजार अनुगमनलाई तीव्रता दिने र नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए । उनले नागरिकहरूलाई सचेत गराउने कार्यलाई पनि प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिए ।

सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले वीरगंजको सरसफाइ अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। यो सहमति कार्यान्वयन कति प्रभावकारी हुन्छ यसको लागि भने समय पर्खिनुपर्ने छ ।


सम्बन्धित समाचार