Logo

१३ बैशाख, सेढवा (पर्सा) । जिल्लाको जिराभवानी गाउँपालिका–३, परसवामा रहेको मिनी रंगशालाको बाउण्ड्री वाल तथा मेश जाली निर्माण कार्यको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ ।

उक्त शिलान्यास वडाध्यक्ष सुरज राय थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बाउण्ड्री वाल निर्माणका लागि मधेश प्रदेश सरकारले २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

निर्माण समितिका अनुसार, सो बजेटबाट करिब २२० मिटर लामो बाउण्ड्री वाल र मेश जाली जडान गरिनेछ। निर्माण कार्य निर्धारित प्राविधिक मापदण्डअनुसार अघि बढाइने जनाइएको छ ।

उक्त मिनी रंगशाला परसवाको गौरवको प्रतीकका रूपमा रहेको छ। यही रंगशालामा न्यू एभरेष्ट क्लब, परसवाले विगत २९ वर्षदेखि हरेक चार वर्षको अन्तरालमा ‘गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ।

पर्सा जिल्लाकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिने यो गोल्डकपले जिल्लाभित्र मात्र होइन, वरपरका जिल्लाबाट पनि फुटबल खेलाडी तथा दर्शकको उपस्थिति आकर्षित गर्दै आएको छ ।

स्थानीयवासीहरूले शिलान्यासलाई उत्साहपूर्वक स्वागत गरेका छन् र रंगशालाको पूर्वाधार विकासले स्थानीय खेलकुद प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार