
१४ वैशाख,वीरगञ्ज । पर्साको सानो पाइला सहकारी ठगीको अनुसन्धान मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर शुक्रबार मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो। यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ४१ जनालाई प्रतिवादी बनाइएको छ।
पर्साका प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, मिसिलमा ३० जना व्यक्ति, तीनवटा सहकारी र आठवटा कम्पनीलाई प्रतिवादी बनाइएको छ।
कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गरिएको छ। अनुसन्धानका क्रममा सानो पाइलाबाट १० करोड ६ लाख ९४ हजार रुपैयाँ गोरखा मिडियामा गएको देखिएको छ।
पर्सा प्रहरीले प्रतिवादीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस गरेको छ।
रवि लामिछानेसहित केही प्रतिवादीको हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिसकेकाले, अन्य प्रतिवादीको हकमा मात्र सम्पत्ति शुद्धीकरणको मुद्दा चल्नेछ।
‘सम्पत्ति शुद्धीकरण मुद्दाको हदम्याद एक वर्ष हुने भएकाले केहीका हकमा प्रमाण जुटाउने काम भइरहेको छ,’ डीएसपी लम्सालले जानकारी दिए। ‘अहिले ४१ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेका छौं।’
सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले अनुसन्धान मिसिल प्राप्त भएको र अध्ययनपछि मुद्दा दर्ता गर्ने बताए। उनले मिसिल अध्ययन गर्न केही दिन लाग्ने जानकारी दिए।
काठमाडौं, कास्की, रुपन्देही, चितवन र पर्सा गरी पाँच जिल्लामा एकसाथ सहकारी ठगीको अनुसन्धान सुरु गरिएको थियो। पर्साको सानो पाइला सहकारीसम्बन्धी मुद्दाको फछ्र्यौटमा ढिलाइ भएको थियो, जसलाई रवि लामिछानेले पनि प्रश्न उठाएका थिए। रविले पर्सा प्रहरीमा यसअघि नै बयान दिएका छन्।
कास्की, काठमाडौं, रूपन्देही र चितवनमा मुद्दा दर्ता भएपछि अदालतबाट धरौटीमा छुटेका रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा अहिले थुनामा छन्।
वीरगञ्जको आदर्शनगरमा रहेको सानो पाइला सहकारीको बचत अपचलन भएको विषयमा यसअघि दुईपटक मुद्दा दर्ता भइसकेको छ।
पहिलो पटक २०८० असोज २३ मा ४९ जनाको जाहेरीमा १३ जना प्रतिवादी बनाइएको थियो। दोस्रो पटक २०८० फागुन २ मा १७९ जनाको जाहेरीमा पूरक अभियोगका रूपमा अर्को मुद्दा दर्ता भएको थियो, जसमा पनि १३ जनालाई नै प्रतिवादी बनाइएको थियो।
पहिला बुझाएको अनुसन्धान मिसिलमा केही कैफियत देखिएपछि फर्काइएको थियो।