Logo

१७ वैशाख, वीरगञ्ज । भूमिहीन दलित तथा सुकुम्बासी समुदायको दीर्घकालीन समस्या समाधानका लागि भिम आर्मी नेपालले बिरगंज महानगरपालिका नगर प्रमुख मेयर राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ। भिम आर्मी नेपालका केन्द्रीय संयोजक सुनिल रामको नेतृत्वमा गरिएको उक्त पहलमा भूमि आयोगमार्फत न्यायोचित, पारदर्शी र समावेशी ढंगले भूमि वितरण प्रक्रिया अघि बढाउन जोड दिइएको थियो।

ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्बासी नागरिकको जीवनस्तर उकास्न आवश्यक सरकारी नीति निर्माण, कार्यक्रमको कार्यान्वयन तथा स्थानीय तहसँगको समन्वयमा सुधार ल्याउन माग गरिएको छ। संयोजक रामले भने भूमि वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र तीव्र बनाउनका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गरी हाम्रा अधिकार सुनिश्चित गर्नुपर्छ। राज्यले अब भाषण होइन, व्यवहारमा प्रतिबद्धता देखाउनुपर्छ।

उक्त कार्यक्रममा पर्सा जिल्लाका विभिन्न दलित तथा सुकुम्बासी समुदायका अगुवा तथा अभियन्ताहरुको उल्लेखनीय उपस्थिति थियो। दलित महिला संघ पर्साका अध्यक्ष निला राम, चमार कल्याण समाजका अध्यक्ष जादोलाल राम, पटेर्वा सुगौलीका दलित अगुवा लालबावु राम, युवा दलित अभियन्ता सन्तोष राम, दिपलाल राम, राजेश्वर राम लगायतले समुदायका तर्फबाट आ–आफ्ना धारणा राखे। उनीहरूले नामसारी प्रक्रिया सहज बनाउन, स्थायी बसोबासको प्रबन्ध गर्न र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे।

समुदायका अगुवाहरूका अनुसार भूमि आयोगले थालेको पहलले भूमिहीन र सुकुम्बासी समुदायमा नयाँ आशा र भरोसा जगाएको छ। तर, उक्त आशालाई व्यवहारमा परिणत गर्न सरकारको स्पष्ट राजनीतिक इच्छाशक्ति र ब्यवहारिक प्रतिबद्धता अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रमले दलित तथा सुकुम्बासी समुदायका आवाजलाई नगरपालिकासम्म पुयाउँदै, स्थानीय सरकारलाई अधिकार सुनिश्चितताप्रति जिम्मेवार बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको बताइएको छ।


सम्बन्धित समाचार