
१९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि थालेको अभियानमा वीरगंज उद्योग वाणिज्य संघले पनि हातेमालो गर्ने भएको छ। शुक्रबार वीरगंज महानगरपालिकामा सम्पन्न छलफल कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह र उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थितिमा यो सहमति जुटेको हो। संघले नदी संरक्षण तथा समग्र वातावरण सुधारका लागि सक्रिय रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
महानगर प्रमुख सिंहले सिर्सिया नदी वीरगंजको पर्यावरणीय र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले औद्योगिक फोहोर, अव्यवस्थित नाला र जनसहभागिताको कमीले नदी संकटमा परेको भन्दै यसलाई बचाउन हर तहबाट पहल हुनुपर्नेमा जोड दिए।
महानगरले नदीको मुहान संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी पनि उनले दिए। साथै, उनले महानगरको हाल जारी व्यवसाय कर, बहाल कर र सम्पत्ति कर संकलन अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने अपेक्षा व्यक्त गरे। नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्ति विकास गर्न संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न संघ पूर्ण रूपमा तयार रहेको बताए। उनले उद्योगहरूले वातावरणमैत्री प्रविधि प्रयोग गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने र यसका लागि स्पष्ट कार्ययोजना बनाउने जानकारी दिए।
“पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ। सिर्सिया नदीमा प्रदूषणको केही हिस्सा औद्योगिक फोहोर पनि हो भन्ने हामी स्वीकार गर्छौं। अब हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँगको सहकार्यमा स्पष्ट योजना बनाउनेछौं,” उनले भने। अध्यक्ष गौतमले कर प्रणाली र भवन निर्माणसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
छलफलको सुरुमा महानगर प्रमुख सिंहले भर्खरै निर्वाचित अध्यक्ष गौतम र उनको टोलीलाई स्वागत गरेका थिए। कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेश टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।