Logo

२० बैशाख, वीरगञ्ज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दुवैजनाले प्रेस स्वतन्त्रताको महत्वमा जोड दिएका हुन्।

अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताका लागि भएका संघर्षमा जीवन बलिदान गर्ने शहीद पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले यस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस ‘प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ भन्ने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले एआइको प्रवेशले पत्रकारितामा सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेक जस्ता चुनौतीहरू पनि थपेको बताए। उनले पत्रकारिता क्षेत्रले यस प्रविधिको सदुपयोग गर्दै उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारितालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली प्रेसले निर्विकल्प भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले दुर्गम क्षेत्र, पीडित वर्ग र आवाजविहीनहरूको आवाजलाई राष्ट्रिय बहसमा ल्याउन पत्रकारिता जगतले महत्वपूर्ण योगदान गरेको बताए। उनले संसदीय अभ्यासलाई जनमुखी बनाउन प्रेस जगतले दिएको खबरदारी र सुझावको प्रशंसा गरे। साथै, सञ्चारकर्मीहरूले कुनै पनि दबाब र अवरोधबिना आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य र सबै सरोकारवालाहरूलाई आग्रह गरे।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसको रक्षा गर्नु संसदको प्रमुख दायित्व भएको बताए।

सभामुख घिमिरेले प्रेस स्वतन्त्रता केवल पत्रकारको मात्र नभई आम नागरिकको सुसूचित हुन पाउने हक भएको उल्लेख गरे। उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने विचार व्यक्त गरे। विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्द्धनका लागि गम्भीर बहस गर्ने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलनमा नेपाली प्रेसको भूमिका सराहनीय रहेको बताए। प्रचण्डले संवैधानिक र कानूनी प्रावधानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको र यसका लागि प्रेस जगत निरन्तर लाग्ने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार