
२३ बैशाख, पोखरिया । पोखरिया नगरपालिकाभित्र रहेका २६ वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा प्रधानाध्यापकहरूसँगको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। वडा नम्बर ४ मा अवस्थित जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा यो छलफल आयोजना गरिएको थियो।
बैठकमा शैक्षिक सत्र २०८२ मा शिक्षक आन्दोलनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको छुटेको पाठ्यक्रमलाई कसरी पूरा गर्दै लैजाने भन्ने विषयमा विस्तृत छलफल भएको छ। यसैगरी, शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरघरमा पुगी विद्यालयबाहिर रहेका बालबालिका तथा विद्यालय छोडेर घरमा बसेका पढ्ने उमेरका युवायुवतीहरूलाई विद्यालयमा भर्ना गराउने विषयमा पनि योजना बनाइएको छ। नियमित रूपमा कक्षा सञ्चालन गर्ने र शिक्षक शिक्षिकाहरू समयमा विद्यालय आउने तथा विद्यालय समयभर विद्यालयमै रहने कुरामा जोड दिइएको छ।
विद्यालयहरूको भौतिक संरचना, जसमा टेबल, कुर्सी, डेस्क, बेन्च, पंखा, शौचालय सरसफाइलगायतका कमी कमजोरीहरूलाई व्यवस्थापन तथा सुधार गर्ने विषयमा पनि छलफल भएको छ। केही आधारभूत विद्यालयहरूमा शिक्षक अभावका कारण बन्द रहेको आईसीटी कक्षा सञ्चालनका लागि शिक्षक पदपूर्ति गर्ने सम्बन्धमा पनि बैठकमा कुराकानी भएको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले जानकारी दिए।
बैठकमा प्रमुख अतिथि रहेका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले शिक्षकहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै शिक्षकहरू लगनशील भए शैक्षिक सत्र २०८२ को परीक्षामा विद्यार्थीहरूले राम्रो अंक ल्याउने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नगर प्रमुख प्रदुमन प्रसाद चौहान, शिक्षा शाखा प्रमुख विजय कुमार झा, शिक्षा शाखा सहायक विनोद प्रसाद चौहान, नगर प्रहरी इन्चार्ज दिनेश प्रसाद चौहान, प्रधानाध्यापक ओमप्रकाश प्रसाद रौनियार, शंकर प्रसाद रौनियार, लालबाबु प्रसाद चौहान, रामबाबु प्रसाद चौहान, पारस ठाकुर हजामलगायत अन्यको सहभागिता रहेको थियो।