
२४ बैशाख, काठमाडौँ । भारतले गएराति पाकिस्तानमा आक्रमण गरेपछि धेरै एअरलाइन्सले ट्राभल एड्भाइजरी निकालेका छन् । एअर इन्डिया, स्पाइसजेट र इन्डिगोले सूचना निकालेर धेरै क्षेत्रहरूमा उडानहरू प्रभावित हुने जानकारी दिएका हुन् ।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एअर इन्डियाले दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने र जाने सबै उडानहरू रद्द गरेको जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही भागमा अर्को सूचना नभएसम्म उडान बन्द गरिएको जानकारी दिएको छ ।
इन्डिगोले पनि आफ्ना उडानहरु प्रभावित भएको भन्दै यात्रुहरुलाई स्थिति हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । तीन वटै एअरलाइन्सले यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गरेर मात्र विमानस्थल पुग्न सल्लाह दिएका छन् ।
यसैबीच पाकिस्तानी अधिकारीहरूले पनि लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्रहरू बन्द गर्ने घोषणा गरेका छन् । इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै प्रमुख विमानस्थलहरू यो क्षेत्रमा पर्छन् ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । लगत्तै भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो ।
यो पनि पढ्नुहोस् :
- पाकिस्तानी सेना आक्रमणमा तीन भारतीय नागरिकको ज्यान गयो
- भारतद्वारा ‘अपरेशन सिन्दूर’मा पाकिस्तानमा हवाई हमला, ३० आतङ्ककारी मारिए