
७ वैशाख, वीरगञ्ज । वीरगंज महानगरपालिकाले होटल व्यवसायीहरूसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास तथा पर्यटकीय गतिविधि प्रवर्द्धनका विषयमा छलफल गरेको छ। बुधबार आयोजित छलफल कार्यक्रममा महानगरका प्रमुख राजेशमान सिंहले कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न सबै होटल व्यवसायीलाई व्यवसाय दर्ता गर्न अनिवार्य गरिएको जानकारी दिए ।
महानगर प्रमुख सिंहले कर प्रणालीलाई यथोचित बनाउने प्रतिबद्धता जनाउँदै करको दायरा फराकिलो पारिने भए पनि व्यवसायीमाथि थप बोझ नपरोस् भन्ने नीति महानगरले लिएको उल्लेख गरे । “हामी व्यवसायमैत्री वातावरण बनाउन कटिबद्ध छौं,” उनले भने, “एकद्वार सेवा प्रणालीमार्फत सेवाहरू डिजिटल बनाउने तयारी भइरहेको छ ।”
पर्यटन प्रवर्द्धनतर्फ पनि महानगरले ध्यान दिएको उनको भनाइ छ । विभिन्न स्थानमा पार्क निर्माण र शहरी सौन्दर्यकरणका कार्यक्रमहरू अगाडि बढाइएका छन्, जसले पर्यटकलाई आकर्षित गर्ने र शहरलाई घुम्न योग्य बनाउने अपेक्षा गरिएको छ ।
छलफलमा होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले व्यवसायीहरू कानुनी रूपमै व्यवसाय सञ्चालन गर्न इच्छुक रहेको भन्दै दर्ता प्रक्रिया सरल र छिटो बनाउन आग्रह गरे । “महानगरको सकारात्मक पहलले व्यवसायीहरूमा आत्मविश्वास बढेको छ,” अध्यक्ष पन्तले भने, “हामी सहकार्य गर्न तयार छौं ।”
पन्तले वीरगंजको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण हुने भन्दै मेलामहोत्सव, कल्चरल कार्यक्रम, र गन्तव्य प्रवद्र्धनमा ध्यान दिनुपर्ने सुझाव दिए । त्यस्तै, संघका महासचिव माधव वस्नेतले व्यवसाय दर्ता, कर प्रणाली र नक्सा पास प्रक्रियामा देखिएका व्यवहारिक समस्याहरू सहज बनाइदिन आग्रह गरे ।
उनले भने, “विगतमा यस्ता प्रक्रियाहरू जटिल हुँदा व्यवसायी हिच्किचिएका थिए,।” छलफलमा सहभागीहरूले वीरगंजलाई व्यवस्थित होटल सेवा र पर्यटकीय आकर्षणमार्फत परिचित गराउनुपर्नेमा जोड दिएका थिए ।
छलफल कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरब झा, होटल तथा पर्यटन व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रचिन्द थापा लगायत होटल व्यवसायीहरूको सहभागिता थियो ।