Logo

२४ बैशाख, वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा गत २०८१ साल चैत ५ गते सम्पन्न स्ववियु (स्ववियु) निर्वाचनमा भएको भनिएको धाँधली, फर्जी नामांकन तथा फर्जी मतदानबारे निष्पक्ष छानबिनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

विद्यार्थी संगठनले निर्वाचनमा गम्भीर अनियमितता भएको दाबी गर्दै विभिन्न संगठनहरूले पहिले नै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरिसकेको स्मरण गराएका छन्। यसै सन्दर्भमा, निष्पक्ष छानबिन र जवाफदेहिताको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, जिल्ला प्रशासन कार्यालयको पहलमा छानबिन समिति गठन गरिएको जानकारी सार्वजनिक भइसके पनि अहिलेसम्म समितिको अनुसन्धान प्रक्रिया, प्रारम्भिक निष्कर्ष वा सुझाव सार्वजनिक नगरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विद्यार्थी संगठनले छानबिन समितिको प्रतिवेदन तथा प्रगति विवरण तत्काल सार्वजनिक गर्न माग गर्दै पारदर्शिताको पक्षमा आफूहरू दृढ रहेको बताएका छन्। साथै, यस्ता गम्भीर विषयहरूमा जनचासोअनुरूप जवाफदेही भूमिका निर्वाह गर्न प्रशासन जिम्मेवार बन्नुपर्ने मागसमेत गरिएको छ।

विद्यार्थीहरूले निष्पक्ष र विश्वसनीय निर्वाचन प्रणाली स्थापनाका लागि विगतमा देखिएका अनियमितताको सशक्त छानबिन अपरिहार्य रहेको उल्लेख गरेका छन्। ज्ञापनपत्र बुझाउने क्रममा उनीहरूले प्रशासनले चाँडो कदम नचाले आन्दोलनको चेतावनीसमेत दिएका छन्।


सम्बन्धित समाचार