Logo

२५ बैशाख, काठमाडौँ । पाकिस्तानबाट भएको जवाफी कारबाहीपछि भारतले स्थल, वायु र समुद्र तीनवटै सुरक्षातन्त्रलाई उच्च सतर्कतामा राखेको छ। जम्मू–कश्मीरको सीमाक्षेत्रमा पाकिस्तानबाट भएको गोलाबारी र बम आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार, मृतकमध्ये चार जना बालबालिका र एक जना भारतीय सैनिक समेत रहेका छन्। घटनामा ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। भारतीय रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा पाकिस्तानले थप कारबाही गर्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा संयन्त्र पूर्ण सतर्क अवस्थामा राखिएको बताइएको छ।

घटनाको पृष्ठभूमिमा भारतले बुधबार राती सीमापार लक्षित हवाई आक्रमण गरेको थियो, जसमा क्षेप्यास्त्रसमेत प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो आक्रमण भारतको पहलगाममा केही दिनअघि भारतीय पर्यटकहरूमाथि भएको क्रूरतापूर्वक हत्याको जवाफ स्वरूप गरिएको बताइएको छ।

यता, पाकिस्तानले पहलगाम घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै भारतको कारबाहीलाई अनावश्यक उक्साहटको संज्ञा दिएको छ। प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रलाई सम्बोधन गर्दै भने, “भारतीय फाइटर विमान खसालिएको कुरा दिल्लीले नै स्वीकार गरेको छ। त्यो हाम्रो तर्फबाट आवश्यक जवाफ थियो।”

सीमामा चुलिँदो तनावले दुवै देशका सीमावर्ती बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। अग्रपंक्तिका गाउँहरू खाली गराउन थालिएको र आपतकालीन उद्धार तथा राहत प्रयास अगाडि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन्।


सम्बन्धित समाचार