
२६ बैशाख, काठमाडौँ । भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले दुबै मुलुकलाई संयम अपनाउन र आपसी आक्रमण रोक्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा बोल्दै युद्धले कुनै दीर्घकालीन समाधान नल्याउने स्पष्ट पारेकी छन्। “मध्यपूर्वका थुप्रै घटनाले देखाइसकेको छ— युद्धले समाधान होइन, अझै धेरै पीडा र अस्थिरता मात्रै दिन्छ,” उनले भनिन्।
ब्रुसका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्। बीबीसीको रिपोर्टअनुसार, उक्त वार्तामा रुबियोले दुवै नेतालाई तत्काल तनाव कम गर्न र हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेका थिए।
यसअघि, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले समेत वार्ता र कूटनीतिक संवाद नै यस्तो संवेदनशील परिस्थितिको दीर्घकालीन समाधान हुन सक्ने बताएका थिए। उनले भने, “युद्ध समाधान होइन, वार्तामार्फत मात्रै स्थायीत्व सम्भव छ।”
अमेरिकी प्रशासनले स्पष्ट पारेको छ कि उनीहरू यो विवादमा प्रत्यक्ष रुपमा संलग्न हुने छैनन्, तर कूटनीतिक माध्यामबाट समाधानको पक्षमा दृढरूपमा उभिएको छ। प्रवक्ता ब्रुसले भनिन्, “हामी तनाव कम गर्न दुवै पक्षलाई प्रोत्साहित गर्छौं, तर यो विषयमा हाम्रो भूमिका एक निष्पक्ष सल्लाहकारको हुनेछ।”
भारत र पाकिस्तानबीच बारम्बार बढ्ने तनावले दक्षिण एसियाको स्थायीत्व र विश्व शान्तिमा असर पर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गर्दै आएको छ। पछिल्लो परिस्थितिमा अमेरिकाको यस्तो सक्रियता कूटनीतिक प्रयासलाई बल पुर्याउने विश्वास गरिएको छ।
यो पनि पढ्नुहोस् :