Logo

२६ बैशाख, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न विवादले नगरपालिकाको प्रशासनिक कामकाजमा गम्भीर असर परेको छ ।

दुवै पदाधिकारीबीच विश्वासको अभाव र आपसी टकरावका कारण नियमित सेवा प्रवाहमा अवरोध उत्पन्न भएको छ, जसले नगरबासीलाई आवश्यक सेवा पाउन कठिनाइ हुने अवस्था सिर्जना गरेको छ। यो स्थिति लामो समयसम्म भएमा योजनाको कार्यान्वयन प्रभावित हुने र बजेट फ्रिज हुने सम्भावनासमेत देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले मेयर किशोरीप्रसाद साह कलवारमाथि हातपातको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गरेका छन् ।

प्रशासकीय अधिकृत जयसवालका अनुसार मेयर कलवारले कानुनविपरीत मौखिक आदेशमा लाखौँ रुपैयाँ भुक्तानी गर्न पटक–पटक दबाब दिएका थिए। कानुनी प्रक्रिया नअपनाई रकम भुक्तानी गर्न नमानेपछि आफूलाई घरमै बोलाएर कुटपिट गरिएको आरोप उनले लगाएका छन् ।

“म कानुनविपरीत कार्य गर्न सक्दिन भनेर स्पष्ट भनेपछि मेयर र उनका समर्थकहरूले शारीरिक आक्रमण गरे,” जयसवालले बताए। उनले नगरपालिकाबाट न्याय नपाएपछि प्रहरी र प्रशासनमा उजुरी दिनुपरेको जनाएका छन् ।

यस वर्षको गढीमाई मेलाका लागि कार्यपालिका बोर्डले अतिथि सेवा र सरसफाइका लागि १० लाख रुपैयाँ स्वीकृत गरेको थियो । तर, मेयर कलवारले मेलाका नाममा २७ लाख, वृक्षारोपणमा १५ लाख, ऐतिहासिक समारोहमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिएको अधिकृत जयसवालको दाबी छ ।

१३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मेयरको फोनबाट बारम्बार छलफलका लागि बोलाइएको र मेयर निवासमा पुगेपछि थप दबाब दिइएको जयसवालले बताए । “१० लाखबाहेक बाँकी रकम भुक्तानी गर्न कानुनी आधार छैन भन्ने जवाफ दिँदा कुटपिट भयो,” उनको तर्क छ ।

यो घटनापछि सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले १३ गतेदेखि कालोपट्टि बाँधेर काम गरिरहेका छन् भने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

नगरपालिकाकी उपप्रमुख नजमु शेहरका अनुसार, सिम्रौनगढमा अहिले कामकाज लगभग ठप्प भएको छ । सेवा प्रवाहमा अवरोध नहोस् भनेर प्रशासनिक कामकाज जारी त छ, तर त्यो पनि सन्तोषजनक ढंगले हुन सकेको छैन ।

उनले वर्तमान आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी रहेको अवस्थामा योजनाहरू समयमै कार्यान्वयन नहुँदा ठुलो संख्यामा बजेट फ्रिज हुने खतरा रहेको बताईन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण योजनाहरू अघि नबढेको र त्यसले समग्र नगरको विकासमा प्रतिकूल असर पार्ने स्थिति सिर्जना भएको उनको चिन्ता छ ।

उनका अनुसार, दुई महिनाअघि पनि योजनाशाखाका प्रमुख नन्दकिशोर माथि मेयर र उनका समर्थकले हातपात गरेका थिए । “व्यक्तिगत स्वार्थका लागि कर्मचारीमाथि आक्रमण गर्नु अत्यन्त निन्दनीय हो,” कर्मचारी संगठनका एक प्रतिनिधिले भने ।

जनप्रतिनिधि र कर्मचारीबीचको यो विवादका कारण सामान्य सेवा प्रवाहमा असर परेको सूचना अधिकारी सुरेश यादवको भनाई छ । मेयर किशोरीप्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन सकेनन् ।


सम्बन्धित समाचार