Logo

२७ बैशाख, काठमाडौँ । भारतको ‘अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको सैन्य तनाव चुलिँदै गएको छ। जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले कश्मीरका नौ स्थानमा हवाई कारबाही गरेको दुई सातापछि पाकिस्तानले प्रतिआक्रमण थालेको घोषणा गरेको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले ‘बुनयान–उल–मरसूस’ नाम दिइएको प्रतिआक्रमण अन्तर्गत भारतका विभिन्न वायुसेना अड्डाहरूलाई लक्षित गरिएको बताएको छ। सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफका अनुसार भारतले पहिले पाकिस्तानका रावलपिन्डीस्थित नूर खान एयरबेस, चकवालको मुरीद एयरबेस र झांगको रफीकी एयरबेसमा मिसाइल आक्रमण गरेको दाबी गरिएको छ। यद्यपि ती सबै संरचना सुरक्षित रहेको पनि पाकिस्तानले जनाएको छ।

भारतले यसअघि कश्मीर क्षेत्रमा गरिएको कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको थियो, जुन पहलगाममा १५ दिनअघि भएको आतङ्कवादी आक्रमणको जवाफस्वरूप भएको बताइएको छ। त्यसयता सीमापार गोलीबारी र मिसाइल आक्रमणका घटनाहरू द्रुत गतिमा बढिरहेका छन्।

भारत सरकारको तर्फबाट पाकिस्तानको प्रतिआक्रमण घोषणामा कुनै औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि भारतको विमानस्थल प्राधिकरणले सुरक्षा कारण देखाउँदै उत्तर र पश्चिम भारतका २४ भन्दा बढी विमानस्थलमा उडानहरू स्थगित गरिसकेको छ।

क्षेत्रीय सुरक्षा विश्लेषकहरूका अनुसार दुबै पक्षबीचको पछिल्लो तनावले दक्षिण एशियाली सुरक्षा परिदृश्य थप जटिल बनाउने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेका बेला भारत र पाकिस्तानबीचको सैन्य तनावले गम्भीर रूप लिन सक्ने चिन्ता बढेको छ।


सम्बन्धित समाचार