
२७ वैशाख, काठमाडौं । भारतले जम्मु–कश्मीर प्रशासनका एकजना उच्च अधिकारीको पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परी मृत्यु भएको दाबी गरेको छ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको निधन भएको जानकारी गराएका छन्।
उनले ‘एक्स’मा लेखेका छन्, ‘राजौरीबाट एउटा दुःखद समाचार प्राप्त भएको छ। हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एकजना कर्तव्यनिष्ठ अधिकारी गुमाएका छौं। उहाँ हिजो मात्रै उपमुख्यमन्त्रीसँगै जिल्लाको भ्रमणमा हुनुहुन्थ्यो र मेरो अध्यक्षतामा सम्पन्न भएको अनलाइन बैठकमा पनि सहभागी हुनुभएको थियो।’
मुख्यमन्त्री अब्दुल्लाहका अनुसार, पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलाबारीमा थापाको निवास परेको थियो। उक्त आक्रमणमा नै थापाको ज्यान गएको हो।
यस गोलाबारीबाट भएको अन्य क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन। भारतीय सुरक्षा बलले भने पाकिस्तानी गोलाबारीको जवाफी कारबाही गरेको जनाएको छ।
उल्लेखनीय छ, भारतले ‘अपरेशन सिन्दूर’ सुरु गर्दै हवाई हमला गरेपछि पाकिस्तानले त्यसको प्रतिक्रियास्वरूप ‘बुनयान-उल-मरसूस’ नामक जवाफी कारबाही थालेको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार, यस कारबाहीअन्तर्गत पाकिस्तानी सेनाले भारतीय हवाई सेना र मिसाइल भण्डार क्षेत्रहरूलाई निशाना बनाएको छ।