
३० वैशाख,काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला प्रहरी परिसरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा राईविरुद्ध मुद्दा दर्ता गरेको हो। राईलाई २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यसअघि, यस प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियामा उनको साझेदार गितेन्द्रबाबु राई (जीबी) लगायतविरुद्ध मुद्दा दर्ता भइसकेको छ। लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ६० लाख रुपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन्।
अनुसन्धानबाट उनी २०७३ कात्तिक ६ देखि २०७४ मंसिर ४ गतेसम्म सहकारीको सदस्य रहेको खुलेको छ। सो अवधिमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ अपचलन भएको मिसिलमा उल्लेख छ।
त्यसपछि उनी २०७४ मंसिर ८ देखि २०७६ भदौ २१ गतेसम्म सहकारीको सचिव भएकी थिइन्। सो अवधिमा कार्यसमितिको नाममा १ करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ अपचलन भएको उल्लेख छ।
भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।