
३१ वैशाख,काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै आक्रमणमा अस्पतालहरूलाई निशाना बनाइएको बताइएको छ।
गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको खबर छ। यससँगै इजरायली सेनाले गाजाका अस्पतालहरूलाई निशाना बनाउन नछाडेको स्पष्ट भएको छ।
पछिल्लो १० हप्तादेखि गाजामा खानेपानी, अत्यावश्यक औषधि र आश्रयका लागि टेन्टको समेत अभाव देखिएको छ। संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले यस नरसंहारलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।
न्यूयोर्कमा गाजाको नाजुक अवस्थाबारे जानकारी गराउँदै राहत प्रमुख फ्लेटचरले इजरायलले राहत सामग्रीको वितरणमा गम्भीर अवरोध खडा गरेको आरोप लगाएका छन्। उनले गाजामा राहत वितरणका लागि इजरायलले ल्याएका नयाँ र अव्यावहारिक सर्तहरूप्रति पनि कडा आपत्ति जनाएका छन्।