६ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा करिब शतप्रतिशत मात्रामा विषादी भेटिएको छ ।
मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीको १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गर्ने क्रममा धनियाँमा शतप्रतिशत विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले आज कालीमाटी तरकारी बजारको तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षणका क्रममा हरियो धनियाँमा सबैभन्दा बढी ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
विषादीको मात्रा धेरै भेटिएको धनिया काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि ल्याइएको हो । उक्त धनियाँ उपभोग अयोग्य रहेको छ । सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

















