Logo

८ जेठ,चितवन । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डमा आज बिहान दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । भरतपुर–२९ मा नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनाका कारण दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ । घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का २५ वर्षीय जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव र अनिल कुमार यादव रहेका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ ।


सम्बन्धित समाचार