८ जेठ,सर्लाही । सर्लाहीको मलंगवामा कारको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा ज्यान गएको छ । मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा बिहीबार दिउँसो करिब ३ बजे भारतीय नम्बर प्लेटको कारको ठक्करबाट घाइते भएकी ७० वर्षीया हसिना खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बीआर ६ एई ९६८८ नम्बरको भारतीय कारले मलंगवा नगरपालिका–३ निवासी खातुनलाई ठक्कर दिएको थियो । खातुन पैदल यात्रा गरिरहेकी अवस्थामा अचानक आएको कारले ठक्कर दिँदा उनको दाहिने कुममा गम्भीर चोट लागेको थियो ।
घटनापछि स्थानीयले उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि उपचारका क्रममा दिउँसो ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने कारका चालक, मलंगवा नगरपालिका–८ निवासी ३० वर्षीय अमित गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली तत्काल घटनास्थलमा खटिएको थियो । घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरपूर्वमा पर्ने जनाइएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















