१० जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दिउँसो करिब ४ः१० बजे वीरगञ्जबाट अलौतर्फ जाँदै गरेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा, वीरगन्ज म.न.पा. वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए।
टाउको र छातीमा चोट लागेका उनलाई तत्काल पावर हाउसस्थित नीलकण्ठ अस्पताल वीरगन्ज पठाइएकोमा उपचारका क्रममा ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज म.न.पा. वडा नं. २९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन्।
उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ। नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको उनको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनालगत्तै प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय श्रीपुर पर्सा पठाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली समेत खटिएर अनुसन्धान भइरहेको छ।

















