
१५ जेठ,वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले आज आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ। २०७४ साल जेठ १५ गते स्थापना भएको यस आश्रमले विगत आठ वर्षदेखि वीरगञ्ज र आसपासका क्षेत्रमा बेसहारा, असहाय र अशक्त व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
आजभन्दा ठिक आठ वर्षअघि, २०७४ जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नामका एक व्यक्तिलाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्जको शुभारम्भ गरिएको थियो। यस पुनित कार्यमा आश्रमका संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दिपक शाक्य, मिनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौसिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाई, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, र अंशु कार्कीको उपस्थिति थियो।
आश्रमको यात्राः कठिनाइ र उपलब्धिहरू
स्थापनाको सुरुवाती पाँच वर्ष (२०७४–२०७९) सम्म वीरगन्ज–०९ (इन्डियन एम्बेसी पछाडि) भाडाको घरमा सञ्चालन भएको आश्रम २०८० सालमा माननीय प्रदेश सांसद रमेश पटेलको पहलमा वीरगन्ज–२५ श्रीसियामा वृद्धाश्रमका लागि बनेको घरमा सरेको छ। हाल यस भवनमा आश्रम सुन्दर तरिकाले सञ्चालन भइरहेको छ।
त्यस्तै, वीरगञ्ज–१५ लक्ष्मणवामा वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोडको लागतमा आफ्नै सुविधासम्पन्न भवन निर्माण कार्य पनि सुरु भइसकेको छ।
मानवसेवा आश्रमः एक राष्ट्रिय अभियान
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो। संवत् २०६९ सालदेखि मानवसेवाको क्षेत्रमा क्रियाशील रही २०७३ साउन २ गते श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यसले खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरूमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा अति कमजोर) मानवहरूको अविच्छिन्न रूपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
आश्रमले २०८२ सालभित्र नेपालभर घरपरिवारविहीन, परित्यक्त, बेसहारा एवं असहाय मानवरहित राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। यसका लागि आश्रमले सातवटै प्रदेशका २१ वटा जिल्लाहरूमा २७ वटा सेवाकेन्द्रहरू सञ्चालन गरी सहयोगापेक्षीलाई सेवा उपलब्ध गराइरहेको छ।
वीरगञ्ज शाखाको तथ्यांक
मानवसेवा आश्रम वीरगञ्जको तथ्यांक अनुसार, २०७४ जेठ १५ गते स्थापना भएदेखि हालसम्म २ सय ९२ जनाको उद्धार गरिएको छ। तीमध्ये १२५ जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकिएको छ भने ३६ जनाले आश्रमै शरीर शान्त गरेका छन्। साथै, ८४ जनाको सामुदायिक पुनस्र्थापना गरिएको छ। हाल मानवसेवा आश्रम श्रीसियामा ४७ जना महिला, पुरुष र बालबालिका आश्रित छन्।
देवेश गुप्ताः वीरगञ्जवासीको पसिनाको कमाइले चल्छ आश्रम
आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार, आश्रममा आउने धेरैले पैसा कहाँबाट आउँछ र डोनर को हो भनेर सोध्छन्। यस प्रश्नको जवाफमा उहाँ गर्वका साथ भन्नुहुन्छ, “मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण वीरगञ्जवासीको पसिनाको कमाइले चल्छ।
सामान्य बिहान बेलुका मजदुरी गर्ने मान्छेले पनि आएर सकेको योगदान गर्नुहुन्छ भने उद्योगपतिहरू पनि आएर सहयोग गर्नुहुन्छ। तसर्थ, सम्पूर्ण वीरगञ्जवासीको सहयोग बिना यो ८ वर्षको यात्रा त्यति सजिलो पक्कै थिएन। यो ८ वर्षमा हामीलाई माया, प्रेम र हौसला प्रदान गर्नुहुने सम्पूर्ण वीरगञ्जवासीप्रति विशेष आभार र धन्यवाद।“
यो वार्षिकोत्सवले मानवसेवा आश्रम वीरगञ्जले बेसहारा मानिसहरूको जीवनमा पारेको सकारात्मक प्रभावलाई उजागर गरेको छ र भविष्यमा अझै धेरै मानिसहरूलाई सेवा पुर्याउने प्रेरणा दिएको छ।