Logo

१० असार, चितवन । भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको विषयले विवादको रूप लिएको छ। नयाँ शैक्षिक व्यवस्थाअनुसार पुराना समितिहरू विस्थापित गरी नयाँ समिति गठन गर्ने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठेपछि विद्यालयभित्रको विवाद सार्वजनिक बहसको विषय बनेको हो।

करिब ११०० विद्यार्थी अध्ययनरत प्रेमबस्ती माध्यमिक विद्यालय भरतपुर महानगरपालिकाको नमुना उन्मुख विद्यालयका रूपमा चिनिन्छ। तर विद्यालय व्यवस्थापन समिति गठनका क्रममा देखिएको विवादले विद्यालयको शैक्षिक वातावरण प्रभावित हुने चिन्ता स्थानीयस्तरमा व्यक्त हुन थालेको छ।

विवादको केन्द्रमा वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले र वडा सदस्य किरण अधिकारीबीच देखिएको फरक धारणा छ। वडा अध्यक्ष काफ्लेले असार २ गते चलानी नम्बर ५००३ मार्फत आफू विद्यालय व्यवस्थापन समितिमा सहभागी हुने जानकारी विद्यालयलाई गराएका थिए। तर त्यसको भोलिपल्ट असार ३ गते वडा सदस्य अधिकारीको अध्यक्षतामा बसेको बैठकले नेत्रनारायण आचार्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेपछि विवाद चर्किएको हो।

विद्यालयका निमित्त प्रधानाध्यापक रामकृष्ण पाठकले आफूले उक्त प्रक्रियामा असहमति जनाएको र विद्यालयको माइन्युट तथा आधिकारिक कागजातको दुरुपयोग गरिएको आरोप लगाएका छन्। उनले विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै आफूले पेश गरेको राजीनामा पत्रसमेत नयाँ समितिले गायब पारेको आरोप लगाएका छन्।

प्रधानाध्यापक पाठकले विद्यालयका शिक्षक नवराज सापकोटाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर माइन्युट सञ्चालन गरेको दाबी गरेका छन्। उनका अनुसार प्रधानाध्यापकको स्वीकृति वा अधिकार प्रत्यायोजनबिनै विद्यालयको आधिकारिक अभिलेख प्रयोग गरिएको छ।

यता शिक्षक सापकोटाले भने आफूले वडा सदस्यको निर्देशनअनुसार माइन्युट लेखेको प्रतिक्रिया दिएका छन्। उनले आफूबाट कुनै अवैधानिक कार्य नभएको दाबी गरेका छन्।

वडा सदस्य किरण अधिकारीले पनि समिति गठन प्रक्रिया कानुनसम्मत रहेको बताएका छन्। उनका अनुसार प्रधानाध्यापकको आग्रह र तत्कालीन परिस्थितिअनुसार बैठक सञ्चालन गरिएको हो। नवनिर्वाचित अध्यक्ष नेत्रनारायण आचार्यले समेत आफू वैधानिक प्रक्रियाबाट चयन भएको जिकिर गरेका छन्।

यसैबीच, स्थानीयवासीले विद्यालयमा राजनीतिक हस्तक्षेप बढेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा विद्यालयलाई शैक्षिक संस्थाभन्दा राजनीतिक प्रभाव क्षेत्रका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ।

स्थानीयवासीले विधि र प्रक्रिया मिचेर प्रधानाध्यापकलाई जानकारी नै नदिई समिति गठन गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार विद्यालय परिसरबाहिर बसेर माइन्युट तयार गरी अध्यक्ष चयन गरिएको भन्ने विषय बाहिर आएको छ, जसले प्रक्रियाको वैधानिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

स्थानीयवासीले प्रश्न उठाएका छन्, “प्रधानाध्यापक हुँदाहुँदै र उनले कसैलाई अधिकार नदिएको अवस्थामा अर्को व्यक्तिले विद्यालयको आधिकारिक माइन्युट कसरी लेख्न सक्छ ? यदि कागजात किर्ते वा दुरुपयोग भएको हो भने सम्बन्धित निकायले छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ।”

वडा अध्यक्ष काफ्लेले आफूले आधिकारिक रूपमा विद्यालयलाई पत्राचार गरिसकेको अवस्थामा त्यसलाई बेवास्ता गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन्। उनले सम्पूर्ण घटनाबारे आवश्यक छानबिन हुनुपर्ने माग गरेका छन्।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बनाएको कार्यविधिअनुसार अभिभावक भेलाबाट चार सदस्य चयन गरी तीमध्येबाट अध्यक्ष चयन गरिने व्यवस्था छ। समितिमा वडा अध्यक्ष वा उनले तोकेको प्रतिनिधि, प्रधानाध्यापक सदस्य सचिव तथा एक शिक्षक प्रतिनिधिसहित सात सदस्य रहने प्रावधान छ।

तर प्रेमबस्ती माध्यमिक विद्यालयमा अभिभावक भेला भएको वा नभएको, प्रधानाध्यापकको असहमतिबीच समिति गठन गरिएको वा नगरेको तथा माइन्युट प्रक्रिया कसरी सञ्चालन भयो भन्ने विषयमा विभिन्न दाबी–प्रतिदाबी सार्वजनिक भएपछि समिति गठनको वैधानिकता नै बहसको विषय बनेको छ।

यस विषयमा प्रतिक्रिया लिन भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुभाषचन्द्र आचार्यलाई पटक–पटक सम्पर्क गर्ने प्रयास भए पनि सम्पर्क हुन सकेन।

विद्यालय व्यवस्थापन समिति गठनको विवादले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ—शिक्षा क्षेत्रलाई राजनीतिक प्रतिस्पर्धाको मैदान बनाइँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ वातावरण, विद्यालयको प्रशासनिक स्थायित्व र समग्र शैक्षिक गुणस्तरमा कस्तो पर्नेछ ? यसको जवाफ अब सम्बन्धित निकायको छानबिन र निर्णयले नै दिनेछ।


सम्बन्धित समाचार