
१५ जेठ,काठमाडौं । राजसंस्था पुनस्र्थापनालगायतका माग राख्दै काठमाडौंमा जारी राजावादी प्रदर्शनमा ’घुसपैठ’ भएको भन्दै तीन जनालाई प्रहरीको जिम्मा लगाइएको छ। प्रदर्शनकारीले आन्दोलनमा अवाञ्छित व्यक्तिहरू प्रवेश गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
प्रहरीका अनुसार, दिउँसो साढे ३ बजेतिर दुई जना पक्राउ परेकामा थप एक जनालाई भर्खरै नियन्त्रणमा लिइएको छ। उनीहरूलाई किन र के प्रयोजनका लागि प्रदर्शनमा प्रवेश गराइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आज उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस निस्केर भृकुटीमण्डपमा एकीकृत भएको थियो। राजावादी समूहहरूले राजसंस्थाको पुनस्र्थापना, हिन्दु राष्ट्र घोषणा र जनजीविकाका सवालहरूलाई लिएर आन्दोलन गरिरहेका छन्। प्रदर्शनका क्रममा भएको यो ’घुसपैठ’ को घटनाले आन्दोलनको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ।