Logo

१८ जेठ, वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयू र सीसीयू वार्डमा गत शुक्रबार राति विद्युत सर्किट सर्ट भई करिब ३ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुँदा १७ जना बिरामीको ज्यान जोखिममा परेको घटनाप्रति अस्पताल विकास समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल आवश्यक कदम चालिएको अस्पताल विकास समितिले बताएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले सामाजिक सञ्जालमार्फत यो घटनालाई ‘लापरवाही’ को संज्ञा दिँदै यसलाई ‘क्षम्य नहुने’ बताएका छन्। उनले लापरवाही गर्ने सम्बन्धित शाखाका कर्मचारीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटनालगत्तै शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेसु डा. चित्तरन्जन साह, विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख, अस्पतालका सबै विभागका प्रमुख, इन्चार्ज लगायत अस्पतालका जिम्मेवार व्यक्तिहरूको बैठक बसी घटनाबारे गम्भीर छलफल गरिएको थियो ।

छलफलपश्चात् शुक्रबार राति ड्युटीमा रहेका अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा पत्राचार गर्ने निर्णय गरिएको छ ।

सुधारका लागि प्रतिबद्धता

अध्यक्ष गुप्ताले यस्ता घटनाको पुनरावृत्ति रोक्न तुरुन्त चालिनुपर्ने कदम अगाडि बढाइएको जानकारी दिएका छन्। अस्पताल प्रशासनले वैकल्पिक उपायमार्फत विद्युत सेवा निरन्तरता दिने प्रयास गरे तापनि यस्तो लापरवाही स्वीकार्य नभएको र बिरामीको जीवनरक्षाका लागि आवश्यक उपकरणहरूमा कुनै पनि प्रकारको अवरोध आउन नदिने गरी व्यवस्थापनमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नारायणी अस्पतालमा ३ घण्टाको विद्युत् अवरोधले प्रशासनमाथि प्रश्न


सम्बन्धित समाचार