Logo

२० जेठ, काठमाडौँ ।   सन् २०१९ मा भारतीय राजनीतिमा ‘चौकीदार’ विवाद गहिरिंदै जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीको आलोचना उल्ट्याउँदै “मै भी चौकीदार” अभियान चलाएका थिए । अब सोही शैली नेपालमा पनि प्रतिध्वनित भएको छ – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘झोले अभियान’ मार्फत ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा ओली र उनको पार्टी एमालेको लोकप्रियता घट्दो क्रममा छ । खासगरी ओलीको समर्थनमा बोल्नेहरूलाई झोले भनेर ट्रोल गर्ने प्रवृत्ति बढेको छ । गायक प्रकाश सपूतले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको प्रशंसा गरेपछि उनीमाथि गरिएको सामाजिक बहिष्कारजस्तै व्यवहारले यस प्रवृत्तिलाई झनै तीव्र बनायो ।

यसैका बीच ओलीले आलोचना उल्ट्याउँदै ‘झोले’ भन्ने आरोपलाई गर्वको पहिचानमा रूपान्तरण गर्ने प्रयास थालेका छन् । उनले “म झोले हुँ” लेखिएको पोस्टरसहित सामाजिक सञ्जालमा उपस्थित हुँदै भने, “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशको विकास र परिवर्तनको झोला बोकेर हिंड्नु कैयौं गुणा राम्रो हो।”

ओलीले झोले शब्दलाई जनताको सेवामा समर्पित व्यक्ति भनेर परिभाषित गरेका छन्। “म जनताको झोला बोक्ने मान्छे हुँ”, उनले एक कार्यक्रममा भने, “परिवर्तनको झण्डा उठाउने झोले हुँ – यसमा मलाई गर्व छ।”

प्रधानमन्त्री सचिवालयका अनुसार यो अभियान कुनै योजनाबद्ध कार्यक्रम नभई ओलीको भाषणका अंशलाई पोस्टरमा उतारेर सामाजिक सञ्जालमा प्रवाह गरिएको हो। रामशरण बजगाईंका अनुसार, “सामाजिक सञ्जालमा विचार र तथ्यभन्दा गाली बढी चल्छ। त्यसैले हामीले सोच्यौं – झोले हुन किन नहुने?”

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पोडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पनि पोस्टर शेयर गरेर अभियानलाई समर्थन जनाएका छन्।

उपमहासचिव प्रदीप ज्ञवालीले भने, “राजावादी सोच राख्नेहरूले राजनीतिक कार्यकर्तालाई ‘झोले’ भन्दै चुप लाग्न बाध्य पार्न खोजेका छन् । तर विचारको झोला बोकेर हिंड्न लाज मान्नु हुँदैन।”

तर आलोचकहरू भन्छन् – यो अभियान पनि अघिल्ला जस्तै सामाजिक सञ्जालमा असफल हुने खतरा बोकेर आएको छ। एमालेले यसअघि गठन गरेको साइबर सेना  पनि दीर्घकालीन प्रभाव छाड्न असफल भएको थियो ।

यद्यपि, ओलीको यो अभियानले आलोचनालाई आत्मसात् गर्दै जनसम्पर्कको नयाँ ढोका खोल्ने प्रयास गरेको देखिन्छ। राजनीतिक रूपमा हेर्दा, ‘झोले’ शब्दको पुनर्परिभाषणमार्फत ओलीले आफ्नो आधार बलियो पार्न खोजिरहेका छन्—जसको मूल्यांकन अब जनताले सामाजिक सञ्जालमै गर्नेछन्।


सम्बन्धित समाचार